भूकम्प पीडितकाे राहत सामग्री वडामार्फत वितरण हुन्छः रक्षामन्त्री खड्का [भिडियाेसहित]

भूकम्प पीडितकाे राहत सामग्री वडामार्फत वितरण हुन्छः रक्षामन्त्री खड्का [भिडियाेसहित]


उपप्रधानमन्त्री एवम् रक्षामन्त्री पूर्णबहादुर खड्काले राहतवितरणको सम्पूर्ण जिम्मा स्थानीय तहलाई दिइएको बताएका छन् । 

जाजरकोट सदरमुकाम खलङ्गालगायतका क्षेत्रमा पुगी स्थलगत निरीक्षणपछि रक्षामन्त्री खड्काले पालिकालाई राहत सामग्री उपलब्ध गराईने र वडामार्फत वितरण गरिने बताएका हुन् । उनले भने, “सरकारले राहत वितरण सुरु गरिसकेको छ । राहत सामग्री पालिकालाई जिम्मा लगाउने र वडामार्फत वितरण हुन्छ, यस घडीमा सबैले मिलेर राहत वितरण र अनुगमनमा सहयोग गर्नुपर्छ ।” 

उनले उद्धार तथा राहत वितरणबारे जानकारी लिनुका साथै राहत वितरणलाई थप प्रभावकारी बनाउन निर्देशन समेत दिएका छन् । 

उनले भूकम्पको केन्द्रबिन्दु रहेको बारेकोटका स्थानीयसँग कुरा गर्दै उद्धार सकिएको र अब सरकारले सम्पूर्ण शक्ति राहत वितरण र पुनःनिर्माणमा लगाउने बताए । उनले बारेकोट गाउँपालिकामा दुई हजार पाँच सय परिवार घरमा बस्न नसक्ने अवस्थामा रहेको तथ्याङ्क आफूले प्राप्त गरिसकेको भन्दै प्राथमिकताका साथ राहत वितरण हुनेमा विश्वास व्यक्त गरेको छन् । 

केही राहत सामग्री आइसकेको र थप राहत सामग्री आउने क्रममा रहेको जानकारी दिदैँ उनले वडाअध्यक्ष, वडा सदस्य र राजनीतिक दलको समन्वयमा राहत वितरणलाई प्रभावकारी र निष्पक्ष बनाइनेमा जोड दिएका छन् ।

समाचारकाे भिडियाे- https://fb.watch/o8wou9oJh5/

Logo