काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसद डा. मिनेन्द्र रिजालले चिनियाँ कम्युनिष्ट नेताहरुले सत्तारुढ दललाई प्रशिक्षण दिएकोमा गम्भीर आपत्ति जनाएका छन् । मंगलबारको प्रतिनिधि सभा बैठकको शुन्य समयमा बोल्दै उनले प्रशिक्षणप्रति आपत्ति जनाएका हुन् । विगतमा छिमेकी राष्ट्रसँगको विशिष्ट र कुटनीतिक सम्बन्धमा संवेदनशील हुन नसक्दा दुबै तर्फका नेता र दलहरु आलोचित हुन पुगेको उनको भनाइ छ । गत शनिबार नेकपाले चिनियाँ कम्युनिष्ट पार्टीसँग भिडियो कन्फरेन्स गरेको थियो ।
उनले पछिल्लो समय चिनियाँ कम्युनिष्ट नेताहरु नेपालका सत्तारुढ दललाई प्रशिक्षण दिने र आन्तरिक झगडा मिलाउने काममा संलग्न हुनु ‘अपाच्य’ भएकाले त्यसतर्फ नेकपाको गम्भीर ध्यानाकर्षण समेत गराए । उनले भने–‘छिमेकी दुई राष्टबीच हाम्रो विशिष्ठ सम्बन्ध रहेको छ । हाम्रो र दुई राष्ट्रबीचको कुटनीतिक सम्बन्धको संवेदनशीलता र जनताहरुबीचको सौहार्दताको सीमाको ख्याल नगरेकाले दक्षिणको छिमेक र नेपाल दुबैतर्फका दल र नेताहरु विगतमा आलोचित रहे । आगतमा उत्तरको छिमेकको दलको नेपालमा सत्तारुढ दललाई आन्तरिक प्रशिक्षण दिने र आन्तरिक झगडा र सत्ता सन्तुलन मिलाउनेमा लाग्ने काम उत्तिकै अपाच्य छ । यसमा सत्तारुढ दलको ध्यान जाओस् ।’
त्यस्तै उनले प्रधानमन्त्रीका लागि फोरजी सर्भेलेन्स सहितको गाडी खरिद प्रक्रियाका सम्बन्धमा गृहमन्त्रीको जवाफ माग गरे । ‘प्रधानमन्त्रीका लागि फोरजी सर्भेलेन्स सहितको ५ करोड मुल्य बराबरको गाडी खरिद प्रक्रिया कोरोनाको कहरमा फागुनदेखि रोकिएको थियो’–उनले भने–‘असार ३ देखि नेपाल प्रहरीले यो प्रक्रिया अघि बढायो भन्ने खबर आयो । माननीय गृहमन्त्री के यो साचो हो ? हो भने कोरोना रोकथाममा बेसार थेरापीको अलौकिक सफलताको उद्घोष पत्याएर बजेट खर्च गर्ने ठाउँ नपाईएला भन्ने डरले उल्फाको धन झै फजुल खर्च गर्न सरकारी तयारी हो यो । जवाफ पाउँ ।’





























प्रतिक्रिया