नेकपा स्थायी कमिटी बैठक भोलि बस्दै, दुई अध्यक्षले राजनीतिक प्रतिवेदन प्रस्तुत गर्ने

नेकपा स्थायी कमिटी बैठक भोलि बस्दै, दुई अध्यक्षले राजनीतिक प्रतिवेदन प्रस्तुत गर्ने

केन्द्रबिन्दु
0
Shares

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को स्थायी कमिटी बैठक बुधबार बस्ने भएको छ । बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बिहान ११ बजे बस्ने पार्टी केन्द्रीय कार्यालय सचिव ईश्वरी रिजालले जानकारी दिइन ।
उनका अनुसार बैठकमा अध्यक्ष केपी शर्मा ओली र कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले राजनीतिक प्रतिवेदन प्रस्तुत गर्दै छन् ।

अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सम्झौता कार्यान्वयन गर्ने अन्तिम दिन यहि असार १६ गते रहेको छ । त्यसैले गत बुधबार प्रधानमन्त्री एवं नेकपा अध्यक्ष ओली र कार्यकारी अध्यक्ष प्रचण्ड बीच भएको भेटमा स्थायी कमिटी बैठकको १० गतेका लागि तय गरिएको थियो । एमसीसीलाई लिएर नेकपामा लामो समयदेखि विवाद चल्दै आएको छ । सोही विवाद समाधान गर्न स्थायी कमिटीको बैठक बस्न लागेको हो । यसअघि गत वैशाख २५ र ३१ मा बस्ने भनिएको स्थायी कमिटीको बैठक अन्तिम समयमा आएर रोकिएको थियो । वैशाख १० मा स्थायी कमिटी सदस्यहरु भीम रावल, सुरेन्द्र पाण्डे, मातृका यादव, टोपबहादुर रायमाझी, अष्टलक्ष्मी शाक्यलगायतका २० जना नेपाल–दाहाल पक्षका सदस्यहरुले तत्काल पार्टीको स्थायी कमिटी बैठक बोलाउन लिखित माग गरेका थिए । स्थायी कमिटीको बहुमत सदस्यले बैठकको माग गरेको १५ दिनभित्र बैठक राख्नुपर्ने नेकपाको विधानमा व्यवस्था गरिएको छ । सोही अनुसार पत्र लेखेको १५ दिन अर्थात वैशाख २५ मा स्थायी कमिटीको बैठक बस्नुपर्ने थियो । तर, वैशाख २५ का लागि बोलाइएको बैठक पनि अघिल्लो दिन ऐजेण्डा तय हुन नसकेको भन्दै अन्तिम समयमा आएर स्थगित गरिएको थियो ।

त्यस्तै वैशाख ३१ मा पार्टी मुख्यालयमा तय भएको बैठक पनि कोरोना भाइरसको जोखिम बढेको भन्दै स्थगित गरिएको थियो । स्थायी कमिटी सदस्य वेदुराम भुसालले भोलिको बैठकका लागि कुनै कार्यसूची आफूहरुलाई नदिइए पनि सरकार र दलको कामको समीक्षा, आगामी दिनको कार्यभार र पार्टी एकताका बाँकी विषयमा छलफल हुने जानकारी दिए । साथै स्थायी कमिटी सदस्य रघुजी पन्तले भोलिको स्थायी कमिटीको बैठकका लागि अहिलेसम्म कुनै एजेण्डा उपलब्ध नभएपनि पहिलेदेखि उठाउँदै आएका विषयहरुमा छलफल हुने बताए ।

बैठकमा स्थायी कमिटीका ४५ सदस्यसहित आमन्त्रित सदस्यका रुपमा अनुशासन, लेखा र निर्वाचन आयोग, सल्लाहकार परिषद् र ज्येष्ठ कम्युनिष्ट मञ्चका संयोजकको पनि उपस्थिति हुने जनाइएको छ । स्थायी कमिटी सदस्य देवन्द्र पौडेलले सरकारको कामको समीक्षा, एमसीसी, बजेट र कोभिड–१९ का बारेमा बैठकमा छलफल हुने जानकारी दिए ।

नेकपाको स्थायी कमिटीको बैठक पछिल्लो पटक मंसिर २९ देखि पुस ६ सम्म बसेको थियो । पार्टी विधानअनुसार तीन महिनामा एक पटक स्थायी कमिटी बैठक बस्नुपर्ने व्यवस्था छ । तर, करिब ६ महिनादेखि नेकपाको स्थायी कमिटीको बैठक बस्न सकेको छैन ।

Logo