पाल्पामा पहिरोले सवारी साधन बगाउँदा ३ जनाको मृत्यु

पाल्पामा पहिरोले सवारी साधन बगाउँदा ३ जनाको मृत्यु


पाल्पा ।
तानसेन नगरपालिका–११ सम्मोबारीमा पहिराले सवारी साधन बगाउँदा दुई जनाको निधन भएको छ भने एक जनाको उद्धार गरिएको छ ।

तानसेन–तम्घास सडकखण्डको सम्मोबारी नजीकै सडकमाथिबाट खसेको पहिरोले गाडी बगाएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक मदन गिरीले बताए । पाल्पाबाट गुल्मी जाने सवारी साधन ट्याङ्कर र ट्रक पहिरोले बगाएको हो । हालसम्म मृतकको परिचय र सवारी साधनको नम्बर खुल्न सकेको छैन । पहिरोले बगाएका सवारी साधनमा कति यात्रु सवार रहेको भन्ने जानकारी आउन नसकेको ट्राफिक प्रहरी कार्यालय प्रदेश नं ५ का प्रवक्ता प्रहरी नायब उपरीक्षक डिल्लीनारायण पाण्डेले जानकारी दिए । बगाएका गाडी भीरमा अडकिएका छन् ।

घटनाको जानकारी पाएसँगै प्रनाउ गिरीको नेतृत्वमा १५ जनाको टोली घटनास्थलमा खटिएको छ । सो क्षेत्रमा पहिरो खस्दा सडक अवरुद्ध बनेको छ ।

खोलाले बगाउँदा मृत्यु

रम्भा गाउँपालिका–१ हुँगीको झेर्दीमा खोलाले बगाउँदा आज एक वृद्धाको मृत्यु भएको छ । मृत्यु हुनेमा रम्भा गाउँपालिका –१ निवासी ७० वर्षीया मनकुमारी सारु रहेको वडाध्यक्ष कृष्ण रेग्मीले बताए।

मस्लाङबाट पनटायरको पसलमा आउने क्रममा उनलाई खोलाले बगाएको थियो । खोलाले बगाएर कालीगण्डकी नदीको किनारामा फालेको अवस्थामा उनलाई भेटिएको वडाध्यक्ष रेग्मीले बताए।रासस

Logo