एमालेमाथि चौतर्फी हमला भइरहेको छः वरिष्ठ उपाध्यक्ष पोखरेल

एमालेमाथि चौतर्फी हमला भइरहेको छः वरिष्ठ उपाध्यक्ष पोखरेल


नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले अहिले एमालेमाथि चौतर्फी ढङ्गले हमला भइरहेको बताएका छन् ।

शनिबार पार्टीको रसुवा–काठमाडौं सम्पर्क मञ्चको देउसी भैलो तथा बृहत् साँस्कृतिक कार्यक्रममा बोल्दै वरिष्ठ उपाध्यक्ष पोखरेलले चौतर्फी हमला भइरहे पनि एमाले एक्लै पहिलो शक्ति बन्न सकेको दाबी गरेका हुन् । उनले भने, ‘अहिले चौतर्फी ढङ्गले एमालेमाथि हमला गरिँदै छ । त्यसको बावजुल पनि एमाले एक्लै पहिलो शक्ति बन्न सकेको छ । एमालेलाई पराजित गर्न जुन ढङ्गले हमला गरिँदै छ । गत निर्वाचनमा त्यसलाई पराजित गर्दै लोकप्रिय मत प्राप्त गर्ने पार्टी बन्यो ।’

उनले अहिले नयाँ र पुरानो पार्टी भन्ने फेसन चलेको भन्दै एमाले पुरानो पार्टी नभई पार्टी गतिमा चलेको, गौरवपूर्ण इतिहास बोकेको, भोलिको मार्गचित्र बनाउने संगठनात्मक संरचना र ठोस नीति बोकेको पार्टी भएको तर्क गरे । पुरानो पार्टी भनेर आरोप लगाउनेलाई उनले आफूहरुको गौरवपूर्ण इतिहास छ कि छैन भन्दै प्रश्न गरे । 

उनले भने, ‘अहिले एउटा फेसन चलेको छ पुरानो पार्टी भन्ने । एमाले पुरानो पार्टी होइन, गतिमा चलेको गौरवपूर्ण इतिहास बोकेको, भोलिको मार्गचित्र बनाउने संगठनात्मक संरचना र ठोस नीति बोकेको पार्टी हो । हामीलाई आरोप लगाउनेसँग सोध्न सक्छौं– तिम्रो गौरवपूर्ण इतिहास छ कि छैन ?’

उनले एमाले मजबुत सुदृढ नहुने हो भने राष्ट्रिय शक्ति कमजोर भई देशको अस्तित्व खतरामा पर्ने दाबी गरे ।

यसैगरी, चाडपर्वको रमाइलो गरिरहँदा यसका धार्मिक, सांस्कृतिक प्रङ्ग सँगसगै सामाजिक सद्भाव अभिवृद्धि गर्ने मूल मर्ममा सबैको ध्यान जान आवश्यक रहेको उनले बताए ।

Logo