‘ओली प्रवृत्ति विरुद्ध मेजर अपरेशन आवश्यक छ’ : प्रचण्ड

‘ओली प्रवृत्ति विरुद्ध मेजर अपरेशन आवश्यक छ’ : प्रचण्ड

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) पुष्पकमल दाहाल प्रचण्ड–माधवकुमार नेपाल पक्षका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आवेग र आक्रोशसहित आन्दोलनमा सक्रिय हुन युवाहरुलाई निर्देशन दिएका छन् ।

आइतबार पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडाँमा राष्ट्रिय युवा संघ नेपालको केन्द्रीय कमिटीको दोस्रो पूर्ण बैठकमा सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले लामो राजनीतिक आन्दोलनबाट प्राप्त नयाँ संविधानमाथि प्रधानमन्त्री केपी शर्मा ओलीले प्रहार गरेर आफूहरु माथि आक्रामक हुनुपर्ने बाध्यता सिर्जना गरिदिएको भन्दै आवेग र आक्रोशसहितको जुझारु आन्दोलन गर्न युवाहरुलाई निर्देशन दिएका हुन् । आन्दोलनमा युवाहरु मात्रै नभई अग्रमोर्चामा आफूपनि सहभागि हुने उनको भनाई छ ।

अध्यक्ष प्रचण्डले संविधानमाथि प्रहार हुँदा सिंगो देश स्तब्ध भएपनि प्रधानमन्त्री केपी शर्मा ओली हाँस्दै हिंडेको टिप्पणी गरे । प्रधानमन्त्री ओलीले एकताको बेलाका सिद्धान्तलाई अतिक्रमण गरेको तथा पार्टीको संगठनात्मक मूल्य मान्यता बाहिर गएको उनको भनाई छ । आफूहरुले भने कम्युनिष्ट आन्दोलनको एकताको प्रतिनिधित्व गर्न चाहेको अध्यक्ष प्रचण्डले बताए । आफूहरु माक्सवादप्रति निष्ठावान हुँदै इमान्दार भएर अघि बढ्ने तथा आफूहरुको कम्युनिष्ट आदर्श तथा सिद्धान्तप्रति प्रतिबद्धता रहेको उनले स्पष्ट पारे ।

प्रधानमन्त्री ओलीलाई जनताले प्रधानमन्त्री बनाएको नभई पार्टीले प्रधानमन्त्री बनाएको उनको भनाई छ । पार्टीको बहुमतको निर्णय मान्ने संसारभरको प्रचलन रहेपनि ओलीले पार्टीको बैठक छलेर हिड्ने गरेको अध्यक्ष प्रचण्डले बताए। ओलीले भ्रष्टाचारीलाई संरक्षण गर्ने गरेको आरोप उनले लगाए । पार्टी एकता गर्दा समाजवादको पूर्वाधार निर्माण गर्नेतर्फ अघि बढ्ने भनिएको भएपनि प्रधानमन्त्री ओलीले सरकारको नीति, कार्यक्रम तथा बजेटको विषयमा कुनै कमिटीमा छलफल नगरी समाजवाद उन्मुख बजेट ल्याउन नसकेको बताए। अध्यक्ष प्रचण्डले केपी ओली प्रवृत्ति विरुद्ध मेजर अपरेशन आवश्यक रहेको बताए ।

Logo