चिकित्सा शिक्षा अध्ययन प्रदेशमा विस्तार गर्न आवश्यक छः प्रधानमन्त्री प्रचण्ड

चिकित्सा शिक्षा अध्ययन प्रदेशमा विस्तार गर्न आवश्यक छः प्रधानमन्त्री प्रचण्ड


प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले चिकित्सा शिक्षा अध्ययन अध्यापनलाई सबै प्रदेशहरूमा विस्तार गरी सरल रुपमा स्वास्थ्य सेवा प्रदान गर्न आवश्यक रहेको बताएका छन् । यसका लागि आवश्यक पर्ने कानुनी, नीतिगत र संस्थागत सुधारहरु क्रमशः अगाडि बढाउँदै लैजान सबै मिलेर काम गर्नुपर्ने उनले बताए । 

आज बालुवाटारमा चिकित्सा शिक्षा आयोगको १२औं बैठकमा उनले देशमा उत्पादन भएका जनशक्तिका लागि सम्मानजनक रोजगारीको अवसर सिर्जना गर्दै सर्वसुलभ सेवा प्रवाहमा सुधार ल्याउनुपर्ने धारणा राखे । 

त्यस्तै, आगामी दिनका लागि स्वास्थ्य क्षेत्रमा आवश्यक पर्ने जनशक्तिको आँकलनका आधारमा चिकित्सा शिक्षा अध्ययनको अवसर वृद्धि गर्दै लैजानु जरुरी भएको प्रधानमन्त्री प्रचण्डले बताए । 

उनले चिकित्सा शिक्षा अध्ययन र अध्यापनको व्यवस्था सातै प्रदेशमा मिलाउन आवश्यक नीतिगत, कानूनी र संस्थागत सुधार गर्न सबैको साथ आवश्यक भएको उल्लेख गरे ।

‘सबै प्रदेशहरूमा चिकित्सा शिक्षा विस्तार गरी आवश्यक सबै प्रकारको जनशक्ति विकास गरी जनताको घरदैलोमा सरल र सहजरुपमा गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्ने वातावरण बनाउन कानुनी, नीतिगत र संस्थागत सुधारहरु क्रमशः अगाडि बढाउदै लैजान हामी सबै मिलेर काम गर्नु आवश्यक छ ।’ उनले भने । 

उनले जनशक्ति उत्पादन वृद्धिसँगै गुणस्तरीय अध्ययन अध्यापनका न्यूनतम मापदण्डहरुको परिपालना गराउनु अनिवार्य रहेको पनि उल्लेख गरे । 

अहिले सम्बन्धित सेवा लिने र दिने, नियामक निकायहरु र नीति निर्माण तहमा समेत सही निर्णय लिन कठिन हुनेगरी चिकित्सा शिक्षा क्षेत्रमा काल्पनिक सूचना फैलाइएको आरोप उनले लगाए । 

‘हाल चिकित्सा शिक्षा क्षेत्रमा तथ्य र प्रमाणमा आधारित भन्दा अपुष्ट रुपमा बजारमा ल्याइने काल्पनिक सूचनाका कारण सेवा प्रदायक संस्थाहरु, अभिभावक तथा विद्यार्थीहरु, नियामक निकायहरु र नीति निर्माण तहमा समेत सही निर्णय लिन कठिन भइरहेकोमा आयोगबाट तयार भएको जनशक्ति प्रक्षेपण योजनाअनुसार क्रमशः जनशक्ति उत्पादनको आधार तय गर्नु पर्ने हुन्छ’ प्रधानमन्त्री प्रचण्डले भने ।

Logo