एमाले केन्द्रीय कमिटी बैठक आज बस्दै

एमाले केन्द्रीय कमिटी बैठक आज बस्दै


नेकपा एमालेको केन्द्रीय कमिटी बैठक आज बस्दैछ। बैठक ललितपुरको च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा बिहान ११ बजे बस्नेछ।

आजकाे बैठकमा मध्यपहाडी लोकमार्ग केन्द्रित विशेष अभियानको आवश्यक योजना तयारी, नेताहरूको परिचालनलगायतका विषयमा छलफल हुने बताइएको छ।

बैठकमा सामाजिक सद्भाव र राष्ट्रिय एकताको प्रवर्द्धनका लागि मंसिर १४ गतेदेखि सुरु गर्ने ‘झुलाघाटदेखि चिवाभञ्ज्याङसम्म समृद्धिका लागि संकल्प यात्रा’ का बारेमा भइरहेको तयारीबारे छलफल हुनेछ। अभियान बैतडीको झुलाघाटदेखि पाँचथरको चिवाभञ्ज्याङसम्म सञ्चालन हुने एमालेले जनाएको छ।

यस्तै, भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपालले बिहीबार काठमाडौँमा गर्ने प्रदर्शन, पार्टीको आन्तरिक जीवन, देशको समसामयिक राजनीतिक अवस्थाका विषयमा पनि छलफल हुने बताइएको छ।

Logo