कांग्रेस नेता भन्छन्ः दुर्गा प्रसाईंको अराजकतामा प्रचण्ड-ओलीको पनि हिस्सेदारी छ

कांग्रेस नेता भन्छन्ः दुर्गा प्रसाईंको अराजकतामा प्रचण्ड-ओलीको पनि हिस्सेदारी छ

केन्द्रबिन्दु
0
Shares

नेपाली कांग्रेसका केन्द्रीय सदस्य नैनसिंह महरले मेडिकल व्यवसायी दुर्गा प्रसाईं नेकपा एमाले र नेकपा माओवादी केन्द्रको पालनकर्ता भएको र उनले चलाएको अराजकतामा यी दुवै पार्टीको पनि हिस्सेदारी रहेको टिप्पणी गरेका छन्।

कांग्रेस अर्घाखाँचीको प्रथम जिल्ला सम्मेलनलाई सम्बोधन गर्दै नेता महरले राजाका नाममा भइरहेको अराजकताको जिम्मेवार मार्सी चामलको भात खाएर फोटो प्रकाशन गर्ने प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र पूर्वप्रधानमन्त्री केपी शर्मा ओली भएको बताएका हुन् ।

'दुर्गा प्रसाईं एमाले र माओवादी केन्द्रको पालनकर्ता हो। आज अराजकताको जिम्मेवार मार्सी चामलको भात खाएर फोटो प्रकाशन गर्ने प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र पूर्व प्रधानमन्त्री केपी शर्मा ओली हो र हुनुपर्छ,’ उनले भने। 

ओली, प्रचण्ड र प्रसाईंबीचको अघोषित सम्बन्धका कारण अहिलेको स्थिति सिर्जना भएको नेता महरले दाबी गरे । 'दुर्गा प्रसाईं हालको अवस्थामा पनि प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष ओलीको बराबर सम्पर्कमा छन्। उनीहरूको दोहोरो उक्साहटमा दुर्गा प्रसाईंले आन्दोलन गरिरहेका हुन्। यसमा राजाको पनि अप्रत्यक्ष साथ होला। तर, बढी भूमिका प्रचण्ड-ओलीकै छ,’ उनले भने।

सत्ताको खेल र देशको ढुकुटीमा कसरी रजगज गर्ने भन्ने कम्युनिस्ट प्रपञ्चको हिस्सेदार हिजोदेखि नै दुर्गा प्रसाईं पनि रहेको नेता महरको आरोप छ। 'ओलीले वर्तमान सत्ताका खिलाफमा दुर्गा प्रसाईंलाई प्रयोग गर्न चाहिरहेको देखिन्छ। प्रचण्ड दुर्गा प्रसाईंको माध्यमबाट ओलीलाई तर्साउन चाहन्छन्। प्रचण्ड र केपी ओलीका कमजोरीसँग दुर्गा प्रसाईं परिचित छन्,’ उनले भने।

प्रचण्ड र ओलीका कमजोरी प्रसाईंलाई थाहा रहेकाले उनीहरू प्रसाईंको खिलाफमा जान नसक्दा अराजकताले प्रशय पाइराखेको नेता महरले बताए।

केही अराजक तत्त्व पुनः मुलुकमा द्वन्द्व निम्त्याएर अस्थिरता सिर्जना गर्न प्रयत्नरत रहेकाले कांग्रेस त्यसका खिलाफमा बलियो गरी उभिनुपर्ने बताए। 'कांग्रेस पनि सुध्रिनुपर्ने छ। हाम्रा कमी कमजोरी छन्। कांग्रेसले आफैँबाट सुधारको प्रक्रिया थाल्नुपर्छ। जनताका लागि काम गर्नुपर्छ। प्रजातान्त्रिक आचरण अनुसार अगाडि बढ्ने वातावरण आफैँभित्र सिर्जना गर्न जरुरी छ। यसरी अगाडि बढे कांग्रेस र मुलुक दुवै समृद्ध हुने छन्,' उनले भने।

Logo