रवि लामिछानेकाे टिप्पणी- ‘दुर्गा प्रसाईंको प्रदर्शनसँग सरकार डराउनु लज्जास्पद’

रवि लामिछानेकाे टिप्पणी- ‘दुर्गा प्रसाईंको प्रदर्शनसँग सरकार डराउनु लज्जास्पद’


राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले मुलकलाई आवश्यकता वा अप्ठ्यारो परेको खण्डमा राष्ट्रिय स्वतन्त्र पार्टी सरकारमा सहभागी हुनसक्ने बताएका छन् ।

रौतहटको चन्द्रनिगाहपुरमा शनिबार सञ्चारकर्मीहरुसँगको भेटघाट कार्यक्रममा बोल्दै सभापति लामिछानेले सरकारमा सहभागी हुने विषय भने पार्टीको प्राथमिकता नरहेको जिकिर गरे । तर एउटा राजनीतिक दल भएकाले मुलकलाई ज्यादै अप्ठ्यारो प-यो वा परिस्थिति सिर्जना भयो र आवश्यकता परेको खण्डमा रास्वपा सरकारमा सहभागी हुन सक्ने उनले बताए । 

रास्वपा अहिले सदनमा प्रतिपक्षको भूमिकामा रहेको उल्लेख गर्दै सभापति लामिछानेले अहिले आफ्नाे जिम्मेवारी र भूमिका असाध्यै धेरै रहेको जिकिर गरे । 

अर्थतन्त्र चलायमान बनाउने भन्दै प्रधानमन्त्री पुष्पकमल दाहालले गत मंगलबार दलहरुका नेता र निजी क्षेत्रका अगुवासहितको बैठक गरेका थिए । लामिछानेले सञ्चारकर्मीसँग उक्त बैठकप्रति असन्तुष्टि व्यक्त गरे । सर्वदलीय बैठकमा यो दलबाट यो आयो भनेर संख्या गन्ने मात्र काम भएको उनले बताए । अर्थतन्त्र बलियो हुने आधारको खोजी नगरिएकाले खाली देखावटी रुपमा बैठक बोलाइएको टिप्पणी उनले गरे ।

राष्ट्रिय स्वतन्त्र पार्टी देश र मधेसको भविष्य फेर्न तयारीको साथ मधेसमा आएको दाबी सभापति लामिछानेले गरे । वर्षाैदेखि विभेदमा परेको मधेसमा विशेष तयारी गरी आफू एक हप्ताको कार्यक्रमअन्तर्गत आएको बताउँदै उनले मधेसमै पार्टीको विशेष बैठक पनि राखेको जानकारी दिए । 

काठमाडौंमा भइरहेको प्रदर्शनसँग सरकार डराउनु लज्जास्पद रहेको टिप्पणी सभापति लामिछानेले गरे । धेरै दलहरु मिलेर बनेको शक्तिशाली सरकार आन्दोलनसँग डराउँदै धरपकडमा उत्रिएको घटना लज्जास्पद भएको उनले बताए । स्वतन्त्र रुपमा हिँडेका नागरिकलाई समाउँदै थुनेको घटना लोकतन्त्रको विशेषताविरुद्ध रहेको बताउँदै उनले भने- ‘लोकतन्त्रमा प्रदर्शन र विरोध गर्न पाउने जनताको अधिकार हो ।’ 

आफू दुर्गा प्रसाईंको समर्थक वा प्रशंसक नभएको पनि उनले प्रष्टीकरण दिए । 

Logo