स्थानीय सरकारले गुणस्तरीय सेवा प्रवाहमा ध्यान दिनुपर्छः मन्त्री शर्मा

स्थानीय सरकारले गुणस्तरीय सेवा प्रवाहमा ध्यान दिनुपर्छः मन्त्री शर्मा


सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जनताको सबैभन्दा नजिकको सरकारका रुपमा रहेको स्थानीय सरकारले गुणस्तरीय सेवा प्रवाहमा विशेष ध्यान दिनुपर्ने बताएकी छन् । 

सल्यानको कपुरकोट गाउँपालिकाले आज आयोजना गरेको स्वागत कार्यक्रममा मन्त्री शर्माले सरकारको प्राथमिकता सुशासन र गुणस्तरीय सेवा प्रवाह भएकाले स्थानीय सरकारले पनि नागरिक केन्द्रित सेवा प्रवाहमा ध्यान दिनुपर्ने बताएकी हुन् । 

सरकारले सुशासन र गुणस्तरीय सेवा प्रवाहमा जोड दिने नीति लिएपछि शैक्षिकसत्र सुरु हुनुअघि नै पाठ्यपुस्तक सम्बन्धित स्थानीय तहसम्म पुगेको, मल आपूर्ति सहज भएको, सेवा प्रदायक कार्यालयमा लामो लाइन बस्नुपर्ने समस्या अन्त्य भएकोलगायत उदाहरण पेस गर्दै मन्त्री शर्माले सेवा प्रवाहलाई थप सहज र प्रविधिमैत्री बनाउँदै लैजानुपर्ने बताइन् । 

सरकारका प्रवक्तासमेत रहेकी मन्त्री शर्माले पूर्वाधार निर्माण र विकासका अन्य काम सङ्घीय तथा प्रदेश सरकारले गर्ने बताइन् । सङ्घीयताले जनताको घर नजिक सरकार पु-याएको भन्दै उनले यसबाट जनताले शासन होइन सेवा अनुभूति गर्नुपर्नेमा जोड दिइन् ।

Logo