विप्लवविरुद्ध पक्राउ पुर्जी जारी भएपछि नेकपाद्वारा आन्दोलनकाे घोषणा

विप्लवविरुद्ध पक्राउ पुर्जी जारी भएपछि नेकपाद्वारा आन्दोलनकाे घोषणा


विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले अदालतबाट भएको पक्राउ पुर्जीको विरोधमा आन्दोलन घोषणा गरेको छ।

मंगलबार एक विज्ञप्ति जारी गर्दै महासचिव विप्लवले पक्राउ पुर्जी गरिनु गैरकानूनी, अराजक र विध्वंसात्मक कार्य भएको बताएका छन् । त्यसविरुद्ध आज मसाल जुलुस प्रदर्शन गर्ने, २० गते न्यायाधीशको पुत्ला जलाउने र २१ गते २ बजे देशव्यापी जनप्रदर्शन गर्ने उनले विज्ञप्तिमार्फत जनाएका छन् । 

विज्ञप्तिमा काठमाडौँ जिल्ला अदालतले २०७६ साल पुसको मुद्दा ब्युँताएर मंसिर १८ गते महासचिव विप्लवसहित नेताहरु खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ माइला लामा गायतका नाममा पक्राउ पुर्जी जारी गरिएको उल्लेख छ। ‘अदालतको उक्त कार्य २०७७ साल फागुन २१ गते सम्पन्न ३ बुँदे सहमतिको ठाडो उल्लङघन मात्र हैन देशका समस्यालाई शान्तिपूर्ण तरिकाले निकास दिन भइरहेका गम्भीर पहल माथिको विध्वंसात्मक हमला पनि हो’, विज्ञप्तिमा भनिएको छ ।

प्रतिबन्ध हटाउँदा राज्यसँग गरिएको ३ बुँदे सहमतिमा पार्टीका नेता कार्यकर्ता माथि लगाइएका मुद्दा फिर्ता लिने र बन्दीहरुलाई मुक्त गर्ने विषय  विज्ञप्तिमा उल्लेख छ । 

Logo