एनसेलबारे जानकारी माग्दै सुशासन समितिले प्रधानमन्त्रीलाई पत्र पठाउने

एनसेलबारे जानकारी माग्दै सुशासन समितिले प्रधानमन्त्रीलाई पत्र पठाउने

केन्द्रबिन्दु
0
Shares

प्रतिनिधि सभाअन्तर्गत राज्य व्यवस्था तथा सुशासन समितिको बैठकले एनसेलका सम्बन्धमा जानकारी लिन प्रधानमन्त्रीलाई आजै पत्र पठाउने निर्णय गरेको छ । 

आज बसेको समिति बैठकले उक्त निर्णय गरेको समिति सभापति रामहरि खतिवडाले जानकारी दिए । उनले भने, ‘सोमबार २५ गते ११ बजे प्रधानमन्त्रीसँग समन्वय गरेर प्रधानमन्त्रीसहित संवैधानिक परिषद्को काम, कर्तव्य अधिकारसम्बन्धी विधेयकमा छलफल प्रारम्भ गर्छौ र यसलाई निरन्तरता दिन्छौँ । एनसेलको हकमा अहिले अरु समितिले हेरिरहेको हुनाले त्यहाँबाट रिपोर्ट र निर्णय आएपछि हामीले गर्नुपर्ने काममा अगाडि बढ्छौँ ।’

एनसेलका सम्बन्धमा के कस्तो भएको हो र अहिलेको अवस्था के हो भन्नेबारे पनि प्रधानमन्त्रीलाई आजै पत्र पठाउने निर्णय भएको उनले जनाए । एनसेलको बारेमा सबै जवाफ आउने हिसाबमा सबैको सल्लाहमा प्रधानमन्त्रीलाई पत्र पठाउने निर्णय भएको खतिवडाको भनाइ छ ।

यस्तै, उनले मंसिर २७ गते प्रधानसेनापतिलाई समितिमा बोलाएर फास्ट ट्रयाक सडबारे छलफल गर्ने पनि जानकारी दिए । उनले भने, ‘मंसिर २७ गते बुधबार प्रधानसेनापतिसहित उपस्थित गराएर फास्ट ट्रयाकको बारेमा छलफल गर्ने कार्यक्रम छ । कति रकम खर्च भयो, कति काम भयो, कुन गतिमा काम हुँदैछ सबै कुराको जानकारी लिने कार्यक्रम छ ।’

एनसेलको सन्दर्भमा सरकारले गठन गरेको आयोगलाई निरन्तर रुपमा हेरेर कर र राजस्व छल्नेहरुलाई कसरी नेपालको पक्षमा ल्याउने भनेर प्रधानमन्त्रीसँग समन्वय गरेर छलफल गर्ने प्रतिबद्धता उनले जनाए । चिसोका कारण भूकम्प पीडितले धेरै समस्या भोग्नु परेको भन्दै समस्या समाधान गर्न सरकारको ध्यानाकर्षण गराएको पनि उनको भनाई छ । 

Logo