राष्ट्रिय सभामा जान काँग्रेसमा लर्को, प्रदेशबाट आकांक्षी सबैको नाम सिफारिस

राष्ट्रिय सभामा जान काँग्रेसमा लर्को, प्रदेशबाट आकांक्षी सबैको नाम सिफारिस

केन्द्रबिन्दु
0
Shares

नेपाली काँग्रेसले राष्ट्रिय सभा सदस्यको निर्वाचनका लागि प्रदेश कार्यसमितिलाई नाम सिफारिस गर्न परिपत्र गरेकोमा आकांक्षीको लर्को देखिएको छ। 

केन्द्रीय कार्यालयले एक पदका लागि बढीमा तीन जनासम्मको नाम सिफारिस गर्न भनेको थियो। तर प्रदेश कार्यसमितिहरूले त्यसबारे छलफल समेत नचलाई आकांक्षी रहेका सबै नेताहरूको नाम संकलन गरेर केन्द्रलाई पठाइदिएका छन्। 

यसपटक जम्मा १९ जना राष्ट्रिय सभा सदस्यका लागि निर्वाचन हुँदैछ। त्यसमध्ये सत्ता गठबन्धनमा भाग लगाउँदा काँग्रेसले बढी पाए १० सिट हो।  काँग्रेसमा मात्रै सिट संख्याभन्दा २० गुणा धेरै आकांक्षीहरू देखिएका छन्।

उम्मेदवारका लागि प्रदेशबाट आकांक्षीहरूको नाम सिफारिस भएर आएपछि विधानबमोजिम केन्द्रीय संसदीय बोर्डले उम्मेदवारको टुंगो लगाउने व्यवस्था छ।  उम्मेदवार चयनका विषयमा काँग्रेसले अहिलेसम्म कुनै मापदण्ड बनाएको छैन। तर बिहीबारदेखि बस्ने केन्द्रीय कार्यसमिति बैठकमा त्यसबारे छलफल हुने नेताहरूले बताएका छन्। 

आकांक्षी सूचीमा केन्द्रीय सदस्यमात्रै २५ जना

प्रदेश कार्यसमितिले तयार गरिरहेको आकांक्षीहरूको सूचीमा पार्टीका पूर्वपदाधिकारीदेखि हालका केन्द्रीय पदाधिकारी, केन्द्रीय सदस्यहरू, प्रदेशका पदाधिकारी र सदस्य तथा जिल्लाका नेताहरूसमेत छन्।

कोही पटक-पटक अवसर पाएर अब फेरि चुनाव लड्ने र जित्ने सम्भावना टरिसकेका नेताहरू छन् भने कोही पुरै राजनीतिक जीवनभर अवसर नपाएका। 

प्रदेशबाट तयार भइरहेको आकांक्षीको सूचीमा २५ जना त केन्दीय कार्यसमितिका सदस्यहरू मात्रै आकांक्षी देखिएका छन्। कोशी, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेश समितिले केन्द्रीय कार्यालयमा पठाउने उम्मेदवारका आकांक्षीको सूची तयार पार्दा २५ केन्द्रीय सदस्यको नाम आएको हो। 

कोशी र बागमतीबाट ८/८ जना, गण्डकीबाट ५, लुम्बिनीबाट ४ जना र कर्णालीबाट एक जना केन्द्रीय सदस्य राष्ट्रियसभा सदस्य उम्मेदवारको आकांक्षी देखिएका छन्।  मधेश र सुदूरपश्चिम प्रदेश समितिले भने नाम संकलन गरिसकेका छैनन्। 

हाल राष्ट्रिय सभाको अध्यक्षका लागि चर्चा भइरहेका नेता कृष्णप्रसाद सिटौला कोशीबाट सिफारिस भएका छन्। उनी काँग्रेसका पूर्वमहामन्त्री हुन्। तर सिटौलासँगै कोशी प्रदेश समितिले केन्द्रीय सदस्यहरू मिनेन्द्र रिजाल, डिला संग्रौला, सुजाता कोइराला, तारामान गुरूङ, उमेशजंग रायमाझी, आङ्गेलु शेर्पा र रुक्मिणी कोइरालाको नाम पनि सिफारिस गरेको छ।  

प्रदेश कार्यसमितिले पूर्वअर्थमन्त्री महेश आचार्य र पूर्वकेन्द्रीय सदस्य गुरूराज घिमिरेको नाम पनि उम्मेदवारका लागि सिफारिस गरेको छ। कोशीबाट महिला १ र अन्य १ पदका लागि निर्वाचन हुँदैछ। 

बागमती प्रदेशबाट पनि केन्द्रीय सदस्यहरू मदन अमात्य, जिपछिरिङ लामा, दिलमान पाख्रिन, हरिशरण नेपाली, जितजङ बस्नेत, गंगालक्ष्मी अवाल, राधा घले र मदनकृष्ण श्रेष्ठको नाम सिफारिस भएको छ। 

त्यस्तै, काँग्रेस काठमाडौँका सभापति सबुज बानियाँ र काठमाडौं महानगरपालिकाका सभापति निलकाजी शाक्य, पत्रकार महासंघका पूर्वअध्यक्ष तारानाथ दाहाल र चिकित्सक संघका पूर्वअध्यक्ष डा. केदारनरसिंह केसी पनि सिफारिस भएका छन्।
 
गण्डकी प्रदेशबाट केन्द्रीय सदस्य गोपालमान श्रेष्ठ, चीनकाजी श्रेष्ठ, कृष्णचन्द्र नेपाली पोखरेल, ध्रुव वाग्ले, अब्दुल सतारको नाम सिफारिस गरिएको छ। यहाँबाट पूर्वसभामुख तारानाथ रानाभाट, केन्द्रीय सहमहामन्त्रीका उम्मेदवार देवराज चालिसे सहितको नाम सिफारिस भएको छ। 

कर्णालीबाट केन्द्रीय सदस्य मानबहादुर नेपालीसहित ९२ जनाको नाम सिफारिस भएको छ । सर्खुेतबाट पूर्वसभापति डम्बर जिसी, पूर्वमन्त्री खड्गबहादुर बस्याल, प्रदेश कार्यसमितिका कोषाध्यक्ष खगिसरा आचार्यसहित २४ जना छन्। 

दैलेखबाट पूर्वसभापति रविन्द्रराज श्रेष्ठ, पूर्व राष्ट्रिय सभा सदस्य रंगबहादुर शाही, पूर्वमन्त्री हिमबहादुर शाही, सुमित्रा शाहलगायतको नाम सिफारिस भएको छ।  जुम्लाबाट पूर्वमन्त्री दीनबन्धु श्रेष्ठ, लाल हमाललगायत छ जनाको नाम छ। 

जाजरकोटबाट प्रदेश उपसभापति सनथबहादुर कार्की, सहमहामन्त्री रामछाया शाही, दीपकजंग शाहलगायतको नाम सिफारिस भएको छ। कालिकोटबाट तरुण दलका पूर्व केन्द्रीय महासचिव भूपेन्द्रजंग शाही, प्रदेश उपसभापति कालीबहादुर सहकारी, प्रदेश कार्यसमिति सदस्य मनबहादुर नेपाली, मोतिराज बम, यशोदा शाहीलगायत नौ जनाको नाम सिफारिस भएको छ।

रुकुम पश्चिमबाट प्रदेश महामन्त्री कृष्ण रोकाय, सल्यानबाट पूर्व केन्द्रीय सदस्य डिल्ली रेग्मी, ध्रुव पुरी, गणेश चन्दलगायतको नाम सिफारिस भएको छ। मुगुबाट पूर्वशिक्षा राज्यमन्त्री हस्तबहादुर मल्लको एकल नाम सिफारिस भएको छ।

डोल्पाबाट संविधानसभा सदस्य दुधकुमारी हमाल, टंक उपाध्यायलगायतको नाम सिफारिस भएको छ। कर्णालीमा तीन सिटका लागि निर्वाचन हुँदैछ।  त्यस्तै, लुम्बिनीबाट केन्द्रीय सदस्यहरु गोविन्दराज पोखरेल, पुष्पा भुसाल, भरत शाह र चन्द्र केसीको नाम पठाइएको छ। तर पोखरेल, भुसाल, शाह र केसीसहित लुम्बिनीबाट मात्रै १२१ जनाको नाम सिफारिस भएको छ।

Skip This
Skip This
Logo