काठमाडौं ।
तत्कालीन समाजवादी पार्टीकी सांसद सरीता गिरीको सांसद पद निलम्बित हुने भएको छ । पार्टीको संसदीय दलको निर्देशन उल्लंघन गरेसँगै उनको सांसद पद निलम्बित हुने भएको हो । संसदीय दल सम्बन्धी कानुनी व्यवस्थामा संसदीय दलका सचेतकले जारी गरेको ह्वीप उल्लंघन गर्नेको पद खारेज हुने व्यवस्था छ । समाजवादी पार्टीका एक नेताका अनुसार सांसद गिरीले संसदीय दलको निर्देशन उल्लंघन गरेसँगै उनको पद स्वतः खारेज भएको छ । सांसद गिरीको सदस्यता खारेज गर्न एक दुई दिनमा पार्टीको बैठक बसेर निर्णय गर्ने उनको भनाइ छ ।
ती नेताले भने–‘अस्ति सांसद गिरीले ह्वीप उल्लंघन गर्नुभयो । तसर्थ कानुनी रुपमा (उहाँ) सरीता गिरी सांसदबाट स्वतः निलम्बित हुनु भयो । एक दुई दिनमा पार्टीको केन्द्रीय कार्यकारीको बैठक बस्छ र निर्णय लिन्छ ।’ सरकारले गत जेठ ७ मा नेपालको राजनीतिक तथा प्रशासनिक नक्सा जारी गरेको थियो । नयाँ नक्सा जारी भएसँगै नेपालको संविधान २०७२ को अनुसूची ३ मा रहेको निसान छाप परिमार्जन गर्न संविधान संशोधन गर्ने निर्णय गरेको थियो ।
सरकारको निर्णय अनुसार कानुन न्याय तथा संसदीय मामिला मन्त्री शिवमाया तुम्बाहाङ्फेले गत जेठ ९ मा नेपालको संविधान (दोस्रो संशोधन) विधेयक २०७७ संघीय संसद सचिवालयमा दर्ता गराएकी थिइन् । मन्त्री तुम्बाहाङ्फेले दर्ता गराएको संविधान संशोधन विधेयक जेठ १८ मा प्रतिनिधि सभाको बैठकमा पेश गरिएको थियो । उक्त विधेयक जेठ २७ को प्रतिनिधि सभाको बैठकमा सैद्धान्तिक छलफलका लागि प्रस्तुत गरिएको थियो । जुन सर्वसहमतिले पारित भएको थियो । संविधान संशोधन वियेधकमाथि केही संशोधन भए सांसदहरुलाई दर्ता गराउन ७२ घण्टाको समय दिइएको थियो । सोही समयमा समाजवादी पार्टीकी सांसद गिरीले बुधबार संघीय संसदको सचिवालयमा नेपालको संविधान (दोस्रो संशोधन) विधेयक, २०७७ माथि संशोधन प्रस्ताव दर्ता गराएकी थिइन् । सांसद गिरीले दर्ता गराएको संशोधन प्रस्तावमा नेपालको संविधानको अनुसूची ३ मा रहेको निसान छाप संशोधन गरेर अध्यावधिक नक्साअनुसारको नक्सा राख्ने बुँदा खारेज गर्नुपर्ने माग गरिएको थियो ।
समाजवादी पार्टीले संशोधन प्रस्ताव तत्काल फिर्ता लिन सांसद गिरीलाई निर्देशन दिएको थियो । समाजवादी पार्टीका सचेतक उमाशंकर अरगरियाले संशोधन प्रस्ताव फिर्ता नलिए सांसद गिरीलाई कारबाहीको प्रक्रिया अगाडि बढाइने लिखित जानकारी समेत दिएका थिए । तर सांसद गिरीले पार्टीको निर्देशन विपरीत संशोधन विधेयक फिर्ता लिएकी थिइनन् । शनिबारको संविधान संशोधन विधेयकमाथि प्रतिनिधि सभामा गरिएको मतदान पनि सांसद गिरीले बहिस्कार गरेकी थिइन् । तर, उनको पार्टी संघीय समाजवादीले सरकारले ल्याएको संशोधन विधेयकका पक्षमा मतदान गर्न सांसदहरुलाई ह्वीप जारी गरेको थियो ।































प्रतिक्रिया