राष्ट्रिय सभा सदस्य निर्वाचन अन्तर्गत गण्डकी प्रदेशमा अन्य, महिला र अपाङ्गता र अल्पसङ्ख्यक समूहबाट एक-एक जना निर्वाचित हुनेछन्। यसका लागि प्रमुख राजनीतिक दलहरुले उम्मेदवारको अन्तिम टुङ्गो लगाइसकेका छन्।
गण्डकीमा सत्ता गठबन्धनबाट नेपाली कांग्रेसले अन्य र अपाङ्गता र अल्पसङ्ख्यक समूहमा उम्मेदवारी दिँदैछ भने नेकपा माओवादी केन्द्रले महिलातर्फ उम्मेदवारी दिने गरी सिट बाँडफाँट गरेको जनाइएको छ।
कांग्रेसले गोरखाका किरणबाबु श्रेष्ठलाई अन्य समूह र तनहुँका पदमबहादुर परियारलाई अपाङ्गता रअल्पसङ्ख्यकमा उम्मेदवार बनाएको छ। माओवादी केन्द्रले पर्वतका मनरुपा शर्मालाई महिलातर्फ उम्मेदवार तय गरेको छ।
यसैगरी नेकपा एमालेले गण्डकीमा अन्यबाट स्याङ्जाका चक्रबहादुर पराजुली, महिलामा गोरखाका सम्झना देवकोटा र अल्पसङ्ख्यकबाट मुस्ताङका हेमन्द्र शेरचनलाई उम्मेदवार बनाउने निर्णय गरेको छ।
गण्डकीमा राष्ट्रिय सभाका अध्यक्षसमेत रहेका गणेशप्रसाद तिमिल्सिना, राष्ट्रिय सभा सदस्यद्वय दीपा गुरुङ र प्रकाश पन्थको कार्यकाल सकिन लागेकाले चुनाव हुन लागेको छ।
तिमिल्सिना अन्य, गुरुङ महिला र पन्थ अपाङ्गता र अल्पसङ्ख्यक समूहबाट निर्वाचित भएको थिए। अध्यक्ष तिमिल्सिना र गुरुङ नेकपा एमाले र पन्थ कांग्रेसबाट राष्ट्रिय सभामा निर्वाचित भएका थिए।
आगामी माघ ११ गते हुने निर्वाचनमा गण्डकी प्रदेशमा प्रदेशसभाका ६० र स्थानीयतहका प्रमुख-उपप्रमुख एक सय ७० गरी दुई सय ३० जना मतदाता छन्।
निर्वाचनमा प्रदेशसभा सदस्यको ५३ र स्थानीय तहका प्रमुख तथा उपप्रमुखको १९ मतभार तोकिएको निर्वाचन कार्यालयले जनाएको छ। प्रदेशसभातर्फ तीन हजार एक सय ८० र स्थानीय तहतर्फ तीन हजार दुई सय ३० गरी कूल छ हजार चार सय १० मतभार छ।
प्रदेशसभाको सबैभन्दा ठूलो दल कांग्रेसका प्रदेशसभाका २७ र स्थानीय तहतर्फ प्रमुख र उपप्रमुख गरी ६७ मतदाता रहेका छन्। कांग्रेसको कूल मतभार दुई हजार सात सय चार रहेको छ।
नेकपा एमालेका २२ प्रदेशसभा सदस्य र स्थानीय तहका प्रमुख र उपप्रमुख गरी ६८ जना रहेका छन्। एमालेको जम्मा मत भार दुई हजार चार सय ५८ हुन आउँछ।
यसैगरी माओवादी केन्द्रका प्रदेशसभा सदस्य आठ र स्थानीय तहका प्रमुख र उपप्रमुख ३० गरी कूल नौ सय ९४ मतभार छ। प्रदेशमा एकीकृत समाजवादीका एक प्रदेश सभा सदस्य र एक नगर प्रमुख गरी समाजवादीसँग ७२ मत भार छ। गण्डकी प्रदेशसभामा दुई सदस्य रहेको राप्रपाको एक सय छ मत भार छ।
राष्ट्रिय जनमोर्चाको स्थानीय तहका प्रमुखरउपप्रमुख गरी तीन रहेकाले ५७ मतभार छ। मनाङको निस्याङ गाउँपालिका उपाध्यक्ष छिरिङ गुरुङले स्वतन्त्रबाट जित्नुभएको हो। उनको मतभार १९ छ।
तयारी पूरा
राष्ट्रियसभा सदस्य निर्वाचन–२०८० अन्तर्गत गण्डकी प्रदेशमा तीन सिटमा हुने चुनावको आज उम्मेदवारी मनोनयन दर्ताको तयारीका सबै काम पूरा भएको छ।
मतदाताको अन्तिम नामावली प्रकाशनलगायत मनोनयन दर्ताका लागि आवश्यक सबै तयारीका काम सम्पन्न गरेर तयारी अवस्थामा रहेको प्रदेश निर्वाचन कार्यालयका सूचना अधिकारी रुद्र न्यौपानेले जानकारी दिए।
उनका अनुसार निर्वाचन अधिकृतको कार्यालयमा आज बिहान १० बजेदेखि ३ बजेसम्म मनोनयन दर्ताको समय निर्धारण गरिएको छ। “उम्मेदवारको मनोनयन दर्ताका लागि आवश्यक काम सम्पन्न गरेर तयारी अवस्थामा बसेका छौँ”, उनले भने।





























प्रतिक्रिया