‘भूमि फिर्ता ल्याउने राष्ट्रिय सङ्कल्प’

‘भूमि फिर्ता ल्याउने राष्ट्रिय सङ्कल्प’

केन्द्रबिन्दु
0
Shares

काठमाडौं । राष्ट्रिय सभाको बैठकमा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री डा. शिवमाया तुम्बाहाङ्फेले प्रतिनिधि सभाबाट सन्देशसहित प्राप्त ‘नेपालको संविधान (दोस्रो संशोधन) विधेयक, २०७७ माथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गरेकी छिन। बैठकमा सो प्रस्ताव माथिको सैद्धान्ति छलफल जारी रहेको छ । आजको बैठकमा भाग लिँदै नेपाल कम्युनिष्ट पार्टी (नेकपा) डा. बेदुराम भुसालले प्रस्तावको समर्थन गर्दै एकताबद्ध भएर विधेयक पारित गरी भूमि फिर्ता गर्न सिङ्गो देश एक भइ लाग्नुपर्ने बताए ।

नेपाली कांग्रेसकी अनिता देवकोटाले लिपुलेक, कालापानी र लिम्पियाधुरा नेपालको नक्सामा समावेश भइसकेको हुँदा अब एकताबद्ध भएर भूमि फिर्ता ल्याउनुपर्ने बताइन् । उनले सो प्रस्तावको समर्थन गरिन । नेकपाका देवेन्द्र दाहालले देशको सार्वभौमसत्ता रक्षाका लागि राष्ट्रिय एकता शनिबारको प्रतिनिधि सभाको बैठकबाट देखिएको बताए । सोही पार्टीका ठगेन्द्रप्रकाश पुरीले नेपालको अतिक्रमित भूमि फिर्ता ल्याउन वर्तमान सरकारले चालेको कदमको स्वागत गर्दै अब गुमेको भूमि कूटनीतिक वार्तामार्फत फिर्ता ल्याउनुपर्ने धारणा राखे।

नेपाली कांग्रेसका जीतेन्द्रनारायण देवले नेपालको सम्पूर्ण भूभागको नक्सा सार्वजनिक भएर सरकारले ल्याएको विधेयकको स्वागत गर्दै भूमि फिर्ता ल्याउनका लागि सबै लाग्न आग्रह गरे । नेकपाकी सांसद दीलकुमारी रावलले नेपालको भूमिमाथि बेलाबेलामा अतिक्रमण गर्ने गरेको हुँदा अबको नक्साअनुसार भूमि फिर्ता ल्याउन एकजुट भइ अगाडि बढ्नुपर्ने बताए । सोही पार्टीका सांसद कोमल वलीले नेपालको राष्ट्रिय एकताका सन्दर्भमा गरिब भएर बाँच्लान् तर आफ्नो भूमि गुमेको देख्न सक्दैनन् र गुमेको भूमि एकताबद्ध भएर लिनेछन् भन्ने राष्ट्रिय सङ्कल्प देखिएको बताइन् । सोही पार्टीका सांसद जगप्रसाद शर्मा र भैरवसुन्दर श्रेष्ठले नेपालको भूमि फिर्ता हुने विश्वास व्यक्त गरे ।

राष्ट्रिय जनता पार्टीका मृगेन्द्रकुमार सिंह यादवले नक्सा पाउनु महत्वपूर्ण उपलब्धि भएको र भूमिको भोग गर्न पनि छिट्टै पाउनुपर्नेमा जोड दिए । नेकपाका सांसद रामनारायण बिडारीले एउटा नेपाली नागरिकले गर्नुपर्ने भूमिका अहिले आएको उल्लेख गर्दै भक्ति थापा तथा अमरसिंह थापाले जोगाएको भूमिलाई फिर्ता ल्याउनु पर्ने बताए ।–रासस

Logo