युगाण्डामा रहेका नेपालीहरूसँग प्रधानमन्त्रीले गरे अन्तरक्रिया

युगाण्डामा रहेका नेपालीहरूसँग प्रधानमन्त्रीले गरे अन्तरक्रिया

केन्द्रबिन्दु
0
Shares

असंलग्न राष्ट्रहरूको आन्दोलन (नाम) को १९ औँ सम्मेलनमा भाग लिन बिहीबार साँझ युगाण्डाको कम्पाला पुगेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले त्यहाँ रहेका नेपालीहरूसँग भेट गरेका छन्।

भेटघाटमा प्रधानमन्त्री प्रचण्डले आफ्नो युगाण्डा भ्रमण पहिलो भ्रमण रहेको बताउँदै यहाँ रहेका नेपालीहरूसँग अन्तरक्रिया गर्न पाउँदा खुसी भएको बताएका हुन् ।

प्रधानमन्त्रीले भने,“युगाण्डामा मेरो पहिलो भ्रमण हो। तपाईहरूसँग भेटेर कुराकानी गर्न पाउँदा खुसी लागेको छ। यहाँ तपाई‌ंहरूले केही कुरा उठाउनुभयो। ती महत्वपूर्ण छन्। हिजोमात्रै मैले भिजिट भिसाका बारेमा केही महत्वपूर्ण निर्णय गरिएको छ। केही समयअघि आप्रवासन समस्या समाधानका निम्ति सबै राजदुतहरू बोलाएर कुरा गरिएको छ।”

“विदेशमा रहेका नेपालीहरूको समस्या सम्बोधन नगरी देशले गति लिन सक्दैन। विदेशमा रहेका नेपालीहरूका दुखकष्ट बुझ्ने अवसर पनि पाएँ” प्रधानमन्त्रीले भने, “अफ्रिकामा रहेका नेपालीहरू भेटन पाउँदा खुसी लाग्यो।”

कार्यक्रममा परराष्ट्रमन्त्री एनपी साउदले युगाण्डामा रहेका नेपालीहरूले देशको अवैतनिक राजदुतका रूपमा काम गरिरहेको बताउँदै नेपालीहरूले गर्ने हरेक क्रियाकलापसँग देशको विम्ब जोडिने भएकाले देशको प्रतिष्ठा बढाउने गरी काम गर्न अपील गरे ।

कार्यक्रममा गैरआवासीय नेपाली संघ युगाण्डाका अध्यक्ष रमा अर्यालले आफ्नो देशको प्रधानमन्त्री लगायतका नेताहरू भेट्न पाउँदा अत्यन्तै खुसीका साथै अभिभावकत्व महसुस भएको बताईन्।

सो कार्यक्रममा गैरआवासीय संघका युगाण्डाका संरक्षक रमेश कंडेलले युगाण्डामा ३५० जनाभन्दा बढी नेपाली रहेको, विगत ३० वर्षदेखि नेपालीहरूले युगाण्डाको विकास निर्माण र व्यापार व्यवसायमा समेत राम्रो भूमिका निर्वाह गरिरहेको बताउँदै युगाण्डामा रहेका नेपालीहरूको अवस्थाबारे जानकारी गराएका थिए । 

Logo