काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले कोरोना रोकथाम, नियन्त्रण तथा उपचारमा उल्लेख्य उपलब्धि हासिल गरेको दाबी गरेका छन् । बुधबार प्रतिनिधि सभामा सम्बोधन गर्दै प्रधानमन्त्री अाेलीले देशमा कोरोना नियन्त्रण गर्न सरकार सफल भएको दाबी गरेका हुन् । कोरोना रोकथाममा सरकारले गरेको कामसँग आफू सन्तुष्ट रहेको उनको भनाइ छ ।
कोरोना आफ्नो सरकारको कमजोरीका कारण नआएको उनले बताए । विश्वव्यापी रुपमा आएको भाइरसलाई सरकारले प्रभावकारी ढंगले सामना गरिरहेको उनको भनाइ छ । भुटान बाहेक अरु देशको तुलनामा नेपालको अवस्था राम्रो भएको उनले बताए । ‘सरकारले विश्वव्यापी महामारीको सामाना प्रभावकारी ढंगले गरिरहेको छ’–प्रधानमन्त्री ओलीले भने–‘कोरोनाबाट देशलाई सरकारले मुक्त गर्छ । सरकारले अघि सारेको दृष्टिकोण, हासिल गरेका उपलब्धि कुन चाँहि कुरामा असन्तुष्ट हुनुपर्ने छ ? कोरोनाका कारण उत्पादन वृद्धि दर हासिल भएन, यो सरकारको कमजोरी हो ? यसलाई आलोचना गर्ने विषय पाईयो भन्ने हो ?’
भैसी व्यापारीले भैसी किन्ने मान्छे आएपछि दुधभन्दा चिल्ला सिंङ देखाउने गरेको प्रसंग उल्लेख गर्दै ओलीले सरकारका राम्रा कामभन्दा पनि अन्यत्र ध्यान केन्द्रीत गराउने काम भएकोे गुनासो गरेका छन् । जहाजका कुरा गर्दा सरकारलाई उडाउने गरिएको स्मरण गर्दे उनले आफ्नै झण्डा राखेर पानीजहाज चलाउने तयारीमा सरकार लागि परेको बताए ।
त्यस्तैगरी नेपालीहरुमा कोरोना रोग प्रतिरोधी क्षमता बढी भएको भनेर कस्ले भनेको भन्ने सांसदको प्रश्नमा उनले भने–‘नेपालीको रोग प्रतिरोधात्मक क्षमता राम्रो छ भनेर कस्ले भन्यो भन्नुभयो, मैले भने भर्रखरै सुन्नुभयो नि ।’ प्रधानमन्त्री ओलीले सम्बाेधनमा नेपालीहरुको नमस्ते गर्ने शैली सबैले अनुसरण गरेको दृष्टान्त दिँदै आर्युवेद, योग लगायत नेपालको औषधिजन्य वनस्पतिको लामो व्याख्या गरेका थिए ।





























प्रतिक्रिया