केन्द्रबिन्दु बुलेटिन : कांग्रेसद्वारा देशका ७५३ वटै स्थानिय तहमा विरोध प्रदर्शन (भिडियोसहित)

केन्द्रबिन्दु बुलेटिन : कांग्रेसद्वारा देशका ७५३ वटै स्थानिय तहमा विरोध प्रदर्शन (भिडियोसहित)

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।

हामीले हरेकदिन दिनभरिका महत्वपूर्ण समाचारहरुलाई केन्द्रबिन्दु बुलेटिनका रुपमा प्रस्तुत गर्ने गरेका छौं । आज पनि हामीले यस्तै समाचारहरु प्रस्तुत गरेका छौं । आजका मूख्य समाचारहरु मध्ये नेपाली कांग्रेसले प्रतिनिधिसभा विघटनविरुद्ध शनिबार देशका ७ सय ५३ वटै स्थानिय तहमा विरोध प्रदर्शन गरेको छ । विरोध प्रदर्शनमा पार्टी सभापति शेरबहादुर देउवाले काठमाडौंको कार्यक्रमलाई सम्बोधन गरेका थिए । यस्तै वरिष्ठ नेता रामचन्द्र पौडेलले चितवनको शारदानगरमा आयोजित विरोधसभालाई सम्बोधन गरे । सम्बोधनका क्रममा कांग्रेसले प्रतिनिधि सभाको विघटन लोकतन्त्र, संविधान र राष्ट्रमाथिकै प्रहार भएको उल्लेख गरेको छ ।

अर्थमन्त्री विष्णुप्रसाद पौडेलले मुलुक प्रतिनिधिसभाको निर्वाचनमा जाने विश्वास व्यक्त गरेका छन् । उनले जनताको निर्णय सुन्न सरकारले निर्वाचनमा जाने निर्णय गरेको बताउँदै त्यो सफल हुने पौडेलको दावी छ । यता, सरकारले कोभिड १९ विरुद्दको भ्याक्सिन उपलब्ध गराउने तयारी गरिरहेको र त्यसका लागि आवश्यक बजेटको प्रबन्ध गरिसकेको पनि जानकारी दिए ।

प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपाभित्र चरम अराजकता र अनुशासनहिनता बढ्दै गएको बताएका छन् । प्रदेश नम्बर १ को प्रदेश सम्पर्क कमिटीद्वारा काठमाडौँमा आयोजित कार्यकर्ता भेलालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले प्रचण्ड–माधव समुहलाई संसदीय प्रणालीको अभ्यास र बहस गर्न पनि सुझाएका छन् । न्यायाधीशहरुले प्रधानमन्त्रीलाई भेटघाट गरेको भन्ने झुटो प्रचार गरेर न्याय प्रणालीमाथि प्रहार गर्ने काम भएको उल्ल्लेख गर्दै ओलीले यो विषय प्रमाणित गरेर देखाउन चुनौती समेत दिएका छन् ।

शनिबारबाट छिमेकी मूलुक भारतमा कोरोना विरुद्धको खोप अभियान सुरु भएको छ । एक भुर्चूअल सम्मेलनमार्फत प्रधानमन्त्री नरेन्द्र मोदीले खोप अभियानको उदघाटन गरेसँगै भारतमा पहिलो खोप अभियान प्रारम्भ भएको हो । अग्रपंक्तिका सेवाप्रदायकसहित पहिलो चरणमा झण्डै तीन करोड मानिसलाई खोप लगाउने भारतीय सरकारको तयारी छ ।

प्रधानमन्त्री कप राष्ट्रिय पुरुष क्रिकेट प्रतियोगिता अन्तर्गत शनिबार भएको खेलमा अविनाश बोहराको पाँच विकेटसँगै सशस्त्र प्रहरी बलको एपिएफले सानदार जितको सुरुवात गरेको छ । खेलमा एपिएफसँग प्रदेश नम्बर एक १३५ रनले पराजित भएको छ । त्रिवि क्रिकेट मैदानमा सशक्त बलिङ गरेका अविनाशले १० ओभरमा ६ मेडनसहित १८ रन खर्चेर पाँच विकेट लिएका थिए । एपिएफविरुद्ध २ सय ४४ रनको लक्ष्य लिएर जवाफी ब्याटिङमा उत्रिएको प्रदेश नम्बर १ ले ४२ दशमलव ४ ओभरमा सबै विकेट गुमाएर १ सय ८ रन मात्रै बनाउन सक्यो ।

Logo