नेकपामा अराजकता र अनुशासनहिनता मौलाएको भन्दै प्रधानमन्त्रीद्वारा चिन्ता

नेकपामा अराजकता र अनुशासनहिनता मौलाएको भन्दै प्रधानमन्त्रीद्वारा चिन्ता

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।

प्रधानमन्त्री केपी शर्मा ओलीले सत्ताधारी पार्टीभित्र भएको ‘कपटपूर्ण तमासा’ले व्यवधान श्रृजना गराएको बताएका छन् ।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रदेश नम्बर १ को प्रदेश सम्पर्क कमिटीद्वारा काठमाडौंमा आयोजित कार्यकर्ता भेलालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले नेकपाभित्र चरम अराजकता र अनुशासनहिनता बढ्दै गएको बताएका हुन् ।

उनले भने, “हामो पार्टीमा जस्तो भाँडभैलो, अराजकता र अनुशासनहिनता संसारमा कहीँ देख्नु भएको छ ? आफ्नै अध्यक्षका विरुद्ध टेलिभिजनमा गयो मनपरी बोल्यो । त्यत्ति अराजकता, त्यत्ति अनुशासनहिनता कहीं देख्नु भएको छ ?” उनले प्रचण्ड माधव समूहलाई संसदीय प्रणालीको अभ्यास र बहस गर्न सुझाव दिए । उनले राष्ट्रपति जस्तो सम्मानित संस्थामाथि आक्षेप लगाउने काम गरिएकोमा रोष प्रकट गरे ।

देश बरबाद पार्न नदिने

प्रधानमन्त्री ओलीले देश बरबाद पार्न नपाएको चिन्ता मानेकाहरुले आफ्नो खुशीलाई देख्न नसकेको दाबी गरे । सरकारले सम्पूर्ण जनताको खुशीका लागि अभिभावककको काम गरिरहेकाले जनतालाई रुवाउन खोज्नेहरुको प्रयास सफल हुन नदिने दाबी गरे ।

उनले लामो समय संघर्ष गरेर प्राप्त उपलब्धिलाई कसैको इसारा र स्वार्थका कारण गुम्न नदिने प्रतिवद्धता जनाए। उनले भने, “देश प्रतिगमनतर्फ फर्कन सक्दैन । देश अगाडि बढ्छ । ”

निर्वाचन नचाहने र सत्ता कब्जा गर्ने मनसायले अघि बढेकाहरुले निर्वाचनको विरोध गर्नुको साथै अदालतलाई धम्कीपूर्ण भाषा प्रयोग गरेको दाबी गरे। लोकतन्त्रका कुरा गर्ने तर निर्वाचनमा जान डराउनेहरु असली पार्टी आफूहरु रहेको भन्दै निर्वाचन आयोग पुगेर चुनाव चिन्हमा दाबी गर्न पुगेको बताए । एकपटक पनि सूर्य चिन्हबाट चुनाव नलडेकाहरुले सूर्य चिन्हमा दाबी गरेको बताए । उनले भने, “सूर्य चिन्ह चाहिन्छ भने बैठकमा आउनुहोस् ।”

प्रधानन्यायाधीशलाई भेटेको छैन

प्रधानमन्त्री ओलीले न्यायाधीशहरुले प्रधानमन्त्रीलाई भेटघाट गरेको भन्ने विषय प्रमाणित गर्न चुनौती दिए । उनले भने, “मैले यसपटक मात्रै होइन, शायद कहिले काहीं भेटेको छैन ।”

उनले झुट प्रचार गरेर न्याय प्रणालीमाथि प्रहार गर्ने काम गरेको उल्लेख गरे। उनले भेटघाटबारे समाचार छाप्ने सञ्चार माध्यमलाई ‘झुट बोल्ने कर्तव्यको ठेक्का लिएको’ संज्ञा दिए ।

उनले मिडियामार्फत लोकतान्त्रिक संस्थाहरुमाथि हमला गर्ने काम भएको बताए। उनले भने, “एउटा पत्रिका जो झुट बोल्ने कर्तव्यको ठेक्का लिएर बसेको छ । हिजो सर्वोच्च अदालतले खण्डन गरिसकेको छ । आज फेरि पनि के न्यायाधीशले प्रधानमन्त्रीलाई भेटेकै हो भनेर समाचार आएको छ । लाज पनि लाग्नु पर्छ । लोकतान्त्रिक संस्थाहरुमाथिको हमला । ”

प्रतिनिधिसभा विघटनको मुद्धा सर्वोच्च अदालतमा विचाराधीन रहेका बेला प्रधानमन्त्रीले ४ जना न्यायाधीशलाई भेटेको भन्दै शुक्रबार संबैधानिक इजलासमा रिट निवेदकको तर्फबाट विघटित प्रतिनिधिसभाकी सांसद शशी श्रेष्ठले प्रश्न उठाएकी थिइन्

मन्त्रिपरिषद्को निर्णयबारे

उनले केही विषय नपाएपछि मन्त्रिपरिषद्ले प्रतिनिधिसभा विघटन गरि निर्वाचनमा जाने निर्णयमा धारा खुलाईएको छैन भनेर टिप्पणी गरेको बताए । ‘मन्त्रिपरिषद्ले संसद विघटन गर्ने सम्बन्धमा गरेको निर्णयमा धारा खुलाईएको छैन’ भन्नेहरुलाई उनले प्रश्न गरे । “प्रतिनिधिसमा विघटन गरेर निर्वाचनमा जाँदा त्यसको निर्णय गर्दा धारा खुलाएर गर्नुपर्छ भनेर संविधानको कुन धारा, कुन ऐनको धारामा छ कुन नियमावलीमा छ ? सर्वोच्चमा बहस गर्न जाँदा त्यत्ति त थाहा हुनु पर्छ नि । ”

आफूहरुको किर्ते गर्ने चलन नभएको पनि बताए । उनले भने, “साढे ३ बजे दर्ता गर्न लगेकोमा १०ः४० मै म कहाँ आएको थियो भनेर र्किते सनाखत गरेर चल्ने हाम्रो चलन छैन ।”

उनले प्रचण्ड माधव समूहले सर्वोच्च अदालतको हुर्मत लिने काम गरेको र संसद विघटन भईसकेको बेलामा निर्वाचन गराउन हुँदैन भनेर धम्की दिंदै हिंडेको बताए। उनले पार्टीको बैठकमा सहभागी हुन पनि प्रचण्ड माधव समूहलाई आव्हान गरे।

पुस २९ गते काठमाडौंमा प्रचण्ड माधव समूहले गरेको कार्यक्रममा प्रचण्डले दिएको अभिव्यक्तिको खण्डन गर्नमै आफ्नो अधिकांश समय खर्चेका प्रधानमन्त्री ओलीले सरकारको विकासको चाहाना र प्रयास असाधारण रहेको र त्यो अघि बढीरहेको पनि बताए। उनले अस्पताल उद्घाटन लगायतका कामहरुको फेयरिस्त नै प्रस्तुत गरेका थिए ।

Logo