केन्द्रबिन्दु बुलेटिन : ‘खेल क्षेत्रलाई आवश्यक सहयोग गर्न सरकार तयार’-प्रधानमन्त्री (भिडियोसहित)

केन्द्रबिन्दु बुलेटिन : ‘खेल क्षेत्रलाई आवश्यक सहयोग गर्न सरकार तयार’-प्रधानमन्त्री (भिडियोसहित)

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।

हामीले हरेक दिन दिनभरिका महत्वपूर्ण समाचारहरुलाई केन्द्रबिन्दु बुलेटिनका रुपमा प्रस्तुत गर्ने गरेका छौं । आज पनि हामीले यस्तै समाचारहरु प्रस्तुत गरेका छौं । आजका मूख्य समाचारहरु मध्ये प्रधानमन्त्री केपी शर्मा ओलीले अन्तर्राष्ट्रिय प्रतियोगिताका लागि खेलाडी छनोट गर्दा विवेक पुर्याउन राष्ट्रिय खेलकुद परिषदलाई सुझाव दिएका छन् । प्रधानमन्त्री ओलीले खेल क्षेत्रको लगानीलाई उत्पादक र परिणाम मुखी बनाउन अभ्यास खेललाई बढी प्रभावकारी बनाउन पनि सुझाव दिए । उनले खेल क्षेत्रलाई आवश्यक सहयोग गर्न पनि सरकार तयार रहेको उल्लेख गरे ।

नेकपाको प्रचण्ड–माधव समूहले निर्वाचन आयोगमा २ सय ७५ जना केन्द्रीय सदस्यको हस्ताक्षरसहितको पत्र बुझाएर नेकपाको वैधानिकता दाबी गरेको छ । अध्यक्षद्वय प्रचण्ड र माधव नेपालसहितको टोली आयोग पुगेर एकीकृत नेकपाको ४ सय ४१ केन्द्रीय सदस्यमध्ये २ सय ७५ जनाको हस्ताक्षर बुझाएर वैधानिकता दाबी गरेको हो । यता, ओली पक्षले अझैसम्म पार्टी विभाजन नभई केही मान्छे पार्टीबाट निस्किएको बताउँदै गर्दा निर्वाचन आयोगलाई वैधानिकताको निर्णय दिन भने सकस हुने देखिएको छ ।

राष्ट्रिय महिला भलिबल टोलीले चीनमा आयोजना हुने २१ औं एसियन सिनियर महिला भलिबल च्याम्पियनसिपमा भाग लिने पक्का भएको छ । च्याम्पियनसिप जियाङमेनमा ०७८ भदौ १३ देखि २० गतेसम्म हुने नेपाल भलिबल संघ (एनभिए) ले जनाएको छ । यदि कोभिड १९ का कारण च्याम्पिनसिप रोक्नु पर्ने भएको अवस्थामा भने दुई महिना अघि आयोजकले सूचना जारी गर्ने पनि संघले उल्लेख गरेको छ ।

सरकारले व्यवसायको वातावरण तयार गर्न नसकेको भन्दै कोरोना पीडित संघर्ष समितिले मंगलबार बालुवाटारमा प्रदर्शन गरेको छ । विभिन्न पेसा तथा व्यवसायीहरु संगठितरुपमा संघर्षमा उत्रिएका उनीहरूले मौद्रिक नीति सबैमा समान प्रकारले लागू गर्नुपर्ने, अनावश्यक सरकारी कर र जरिवानाको अन्त्य गरि व्यवसायीलाई काम गरेर खाने वातावरण तयार गरिदिनुपर्ने माग अघि सारेका छन् ।

अर्थमन्त्री विष्णुप्रसाद पौडेलले स्वच्छ, स्वतन्त्र, निश्पक्ष, विश्वसनीय एवं मितव्ययी निर्वाचनका लागि आवश्यक बजेट नेपाल सरकारले उपलब्ध गराउने प्रतिवद्धता जनाएका छन् । मंगलबार अध्यावधिक निर्वाचनका लागि खर्च व्यवस्थापन विषयक छलफलमा मन्त्री पौडेलले निर्वाचनका लागि आयोगबाट भइरहेको तयारी सकारात्मक रहेको पनि उल्लेख गरे ।

Logo