‘भष्टाचार अझै व्याप्त छ’ : नेता गौतम

‘भष्टाचार अझै व्याप्त छ’ : नेता गौतम

केन्द्रबिन्दु
0
Shares

काठमाडौँ ।

राष्ट्रिय सभा सदस्य वामदेव गौतमले देशमा भ्रष्टाचार व्याप्त रहेको बताएका छन् ।

शुक्रबार राष्ट्रिय सभा अन्तर्गतको दीगो विकास तथा सुशासन समिति सदस्यको रुपमा पहिलो पटक समिति बैठकमा सहभागी हुँदै गौतमले देशमा भ्रष्टाचार समाप्त पार्ने गरि कुनै प्रभावकारी कदम नचालिएको बताए । सरकारले देशमा सुशासन कायम गर्ने घोषणा गरेपनि घोषणा अनुसारको व्यवहारमा नदेखिएको उनको भनाई छ । भ्रष्टाचार अन्त्यको निम्ति विभिन्न कानून, नियमावली बनेको भएपनि लागू हुन नसकेकोमा उनले दुःख व्यक्त गरे ।

गौतमले प्रकृतिमा रहेका सबै प्राणीहरुको अन्तर्निहित सम्बन्ध बिग्रन नदिई विकास गर्नुपर्नेमा जोड दिए । राष्ट्रिय सभा सदस्य गौतमले प्रतिनिधिसभा र राष्ट्रिय सभाको मानमर्यादा र काम कारबाहीमा विभेद भएको भन्दै विभेद अन्त्यको निम्ति आफ्नो ऐक्यवद्धता रहने बताए । एक सदनलाई बढी अधिकार र अर्को सदनलाई कम अधिकार दिने अवस्थाको अन्त्य हुनुपर्ने उनको भनाई छ । बैठकमा बोल्दै, राष्ट्रिय सभा सदस्य रमेशजंग रायमाझीले सरकारले सन् २०२२ सम्ममा देशलाई विकासशील देशको सुचीमा राख्ने भनिएकोमा त्यसो गरिए राष्ट्रिय गौरवका आयोजना तथा विदेशबाट आउने सहायता बन्द हुने बताए ।

देशलाई विकाशसीत देशको सुचीमा नराखे पछि निर्माण हुने सरकारलाई अप्ठ्यारो पर्ने उनको धारणा छ । रायमाझीले कोभिड १९ पछि बजार भाउ अत्यन्तै बढेको भन्दै बजार अनुगमन आवश्यक रहेको उनले औल्याए । उनले सार्वजनिक यातायात सरकारले भने अनुरुप सञ्चालन भइरहेको छन् कि छैनन् त्यसको पनि अनुगमन गर्नुपर्ने बताए । मन्त्रालयहरुले आफ्नो भूमिका निर्वाह गरेका छन् कि छैनन् सम्बन्धित मन्त्रालयलाई समितिमा बोलाएर छलफल गर्नुपर्ने उनको भनाई छ ।

Logo