काठमाडौं । सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को स्थायी कमिटीको बैठक बुधबार बिहान बस्ने भएको छ । स्थायी कमिटीको बैठक बुधबार बिहान ११ बजे पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा बस्नेछ ।
नेकपा स्थायी कमिटी सदस्य अष्टलक्ष्मी शाक्यले बैठक बस्नेबारे आफूले सूचना पाएको जानकारी दिइन् । सरकारको काम, पार्टीको आन्तरिक विवाद, कोरोना भाइरस र प्रमुख रुपमा नेपाली भूमि अतिक्रमणबारे छलफल हुने उनले बताइन् ।
उनले केन्द्रबिन्दुसँग कुरा गर्दै भनिन्–‘भोलिको स्थायी कमिटीको प्रमुख एजेण्डा भारतसँगको सीमा विवाद, कोरोनाको प्रभाव र सरकारले गरिरहेको काम कारवाही, सरकारको कामको समिक्षा र पार्टीभित्रको आन्तरिक विवादका वारेमा हुन्छ ।’
यसअघि कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेपाल पक्षका २० जना स्थायी कमिटी सदस्यले लिखित रूपमा बैठक बोलाउन माग गरेका थिए । गत वैशाख २० गते बसेको सचिवालय बैठकले वैशाख २५ गते स्थायी कमिटीको बैठक बोलाउने निर्णय गरेको थियो । स्थायी कमिटीको बैठकका लागि आवश्यक तयारी गर्न २४ गते बसेको सचिवालय बैठक विना निष्कर्ष टुंगिदा अन्तिम समयमा आएर नेकपाको स्थायी कमिटीको बैठक रोेकिएको थियो ।





























प्रतिक्रिया