काठमाडौं ।
भारतले नेपालको लिपुलेकमा निर्माण गरेको सडकको विरोध गर्दै युवा संघ नेपाल र अनेरास्ववियूले सीमानामा काँडेतार लगाउन सरकारसँग माग गरेका छन् ।
भारतले गत शुक्रबार तावाघाट लिपुलेकहुँदै मानसरोवरतर्फ जाने सडक निर्माण गरी शिलान्यास गरेको विषयलाई विरोध गर्दै सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) निकट राष्ट्रिय युवा संघ नेपाल र अनेरास्ववियूले परराष्ट्र मन्त्रालयमा ज्ञापन पत्र बुझाउँदै सीमानामा काँडेतार लगाउन माग गरेका हुन् । युवा संघ नेपालका संयोजक रामप्रसाद सापकोटा (दिपशिखा) ले छापामार शैलीमा मिचिएको भूमि फिर्ता गराउन र सीमामा काँडेतार लगाउन माग गरे । उनले भारतबाट देशको सीमानाका दर्जनौं ठाउँमा मिचिएको तथ्यहरु सार्वजनिक हुँदा समेत सरकारले कुटनीतिक पहललाई प्रभावकारी बनाउन नसकेकोले समस्या आइरहेको बताए । उनले सीमानाको रक्षाका लागि सुरक्षा फौज राख्न, सीमानामा काँडेतार लगाउन र सीमा सम्बन्धी दीर्घकालिन समस्या समाधानका लागि उच्च तहबाट निर्णायक पहल गर्न आग्रह गरे ।
परराष्ट्र मन्त्री प्रदिपकुमार ज्ञवालीले ज्ञापन पत्र बुझ्दै नेपालको भूमिमा भारतले सडक बनाएको विषयमा सरकार जानकार रहको र सरकारले आफ्नो दृष्टिकोण परराष्ट्र मन्त्रालयमार्फत सार्वजनिक गरिसकेको बताए । उनले एक पक्षिय ढंगले भएका गतिविधिहरु दुई देशका प्रधानमन्त्री तहमा भएको कुटनीतिक संयन्त्र निर्माण गरि समाधान गर्ने सहमति विपरित भएको समेत बताए । उनले सरकारले फेरीपनि यो समस्याको समाधान कुटनीतिक ढंगले गर्न पहल गरिराखेको बताए ।
युवा संघ र अनेरास्ववियूले गत वर्ष भारतले नेपाली भूमि समेटेर सार्वजनिक गरेको नक्सा खारेजी गर्न र नेपाली भूमिमा बनाएको सडक सञ्चालनमा रोक लगाउन पनि माग गरेका छन् ।





























प्रतिक्रिया