काठमाडौँ,
नेपाली कांग्रेसको भातृ संगठन नेपाल विद्यार्थी संगठनले सरकारले जारी गरेका अध्यादेशहरु फिर्ता गर्नुपर्ने माग गर्दै देशभरी प्रदर्शन गरेको छ ।
सरकारले सोमबार जारी गरेका अध्यादेशहरु फिर्ताको माग गर्दै नेविसंघले प्रदर्शन गरेको हो । लकडाउनको पालना गर्दै सामाजिक दुरी कायम गरेर ७७ वटै जिल्लामा विरोध प्रदर्शन गरिएको नेविसंघले जनाएको छ । सरकारले जारी गरेका अध्यादेशविरुद्ध लकडाउनको पालना गर्दै सामाजिक दुरी कायम गरी सांकेतिक विरोध प्रदर्शन गरिएको नेविसंघ महामन्त्री युवराज पाण्डले बताए । सिंगो देश कोरोना भाइरस (कोभिड—१९) विरुद्ध लडिरहेका बेला सरकारले आफ्नो स्वार्थ पूर्तिका लागि राजनीतिक खेल खेलिरहेको आरोप उनले लगाए । राजनीतिको फोहोरी खेल खेल्न सरकारले असंवैधानिक र अराजनीतिक तरिकाबाट दुईवटा अध्यादेश ल्याएको उनको आरोप छ । सरकारले दुबै अध्यादेश फिर्ता नगर्दासम्म आन्दोलन जारी रहने उनले बताए ।
जनताका अधिकार हनन् गरी अधिनायकवाद लाद्न खोजे आन्दोलनमा उत्रिने चेतावनी पनि नेविसंघले दिएको छ । अप्ठ्यारोमा सरकारलाई सहयोग गरिरहेको स्मरण गर्दै महामन्त्री पाण्डेले सरकारका गलत काम, भ्रष्टाचार, अनियमितता लगायतका विषयमा सधैं खवरदारी जारी रहने बताए । उनले राष्ट्रपति विद्यादेवी भण्डारीलाई देशको अभिभावक भएर आफ्नो जिम्मेवारी निर्वाह गर्न पनि आग्रह गरे । ‘अध्यादेश खारेज गर, विधिको शासन लागु गर, विधिको तन्त्र जिन्दावाद, लोकतन्त्र जिन्दावाद’ जस्ता नारा लगाउँदै नेविसंघले विरोध प्रदर्शन गरेको हो ।































प्रतिक्रिया