‘कांग्रेस निर्वाचनबाट भाग्दैन’ : नेता रिजाल

‘कांग्रेस निर्वाचनबाट भाग्दैन’ : नेता रिजाल

केन्द्रबिन्दु
0
Shares

लमजुङ ।

पूर्वमन्त्री तथा नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा मीनेन्द्र रिजालले संविधानको संरक्षण र कार्यान्वयन गर्नका लागि कांग्रेस चुनावमा सहभागी हुने बताएका छन् । लमजुङ सुन्दरबजार नगरपालिका–३ मा मंगलबार कांग्रेस वडा भवनको शिलान्यास कार्यक्रममा उनले भने, “संविधानको मर्म तथा विधि अनुसार संविधानमा टेकेर चुनाव हुने भएमा आफ्नो पार्टी चुनावबाट भाग्ने छैन ।’’

जनता नै सबैभन्दा ठूलो अदालत भएकाले जनतासामु जान तयार रहेको उनले प्रष्ट पारे। सर्वोच्च अदालतले निर्वाचनको पक्षमा निर्णय गरेमा निर्वाचनमा भाग लिनु पर्ने भन्दै कार्यकर्तालाई तयारी रहन समेत उनले आग्रह गरे । पार्टीको महाधिवेशनभन्दा पनि अहिलेको परिस्थितिमा जनताको मत र अधिकारको रक्षा गर्नु महत्वपूर्ण कुरा भएकाले मध्यावधि चुनावका लागि तयार हुनु पर्ने उनको भनाइ छ ।

नेता रिजालले संसद् विघटनको विषयमा भावना र अनुमानको भरमा व्याख्या गर्दै नबोल्न कार्यकर्तालाई आग्रह गरे । न्याय दिने अन्तिम ठाउँ नै सर्वोच्च रहेकाले सर्वोच्चले गरेको निर्णयलाई सबैले स्वीकार्नु पर्नेमा उनले जोड थियो ।

कार्यक्रममा काँग्रेसका नेताहरु चन्द्रबहादुर कुँवर, शङ्करकान्त जोशी, कृष्णप्रसाद कोइराला, तुल्सीनारायण श्रेष्ठ, सुन्दरबजार नगरपालिका उपप्रमुख ज्ञानु शाह, लमजुङ क्षेत्र नं २ का सभापति वृर्खराज गुरुङ लगायतले प्रधानमन्त्रीले संसद् विघटन गरेर जनताको मतको सम्मान नगरेको आरोप लगाए । रु १० लाख लागतमा दुई कोठे पार्टी कमिटीको भवन निर्माण हुने बताइएको छ । रु दुई लाख नगरबाट आएको र बाँकी रकम चन्दा सङ्कलन गरेर निर्माण गर्ने सोही वडाध्यक्ष तथा कांग्रेस पार्टी लमजुङ क्षेत्र नं २ को क्षेत्रीय कार्यसमिति सदस्य अमृत न्यौपानेले बताए ।रासस

Logo