ललितपुर महानगरले आफ्नै स्रोतमा क्वारेन्टाइन संचालन गर्ने

ललितपुर महानगरले आफ्नै स्रोतमा क्वारेन्टाइन संचालन गर्ने


ललितपुर ।
ललितपुर महानगरपालिकाले आफ्नै स्रोतबाट क्वारेन्टाइन संचालन गर्ने भएको छ । नगरप्रमुखको संयोजकतत्वमा ‘महानगर विपद् व्यवस्थापन समिति’ को बुधबार बसेको बैठकले सो निर्णय गरेको हो ।

सहायक प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा गठन भएको क्वारेन्टाइन संचालन तथा व्यवस्थापन समितिले रिपोर्ट दिएपछि क्वारेन्टाइन सञ्चालन गरिने छ । ललितपुर महानगरका प्रमुख चिरीबाबु महर्जनले ललितपुरमहानगरपालिकाभित्र क्वारेन्टाइन संचालन अत्यावश्यक भएको बताए । उनले भने– ‘संक्रमितको उपचारमा आएका आफन्तहरुलाई समेत क्वारेन्टाइन आवश्यक छ ।’

प्रमुख महर्जनले संक्रमण दोस्रो चरणमा प्रवेश गरेकाले त्यसको रोकथामका लागि यथाशीघ्र क्वारेन्टाइन स्थापना गर्नुपर्ने बताए । उनले समितिलाई जतिसक्दो छिटो रिपोर्ट दिन आग्रह समेत गरेका छन् । ललितपुर महानगरका स्वास्थ्य सल्लाहकार डा. मदन पियाले क्वारेन्टाइनको व्यवस्था गर्नु आवश्यक भएको बताए । सरकारले तयार गरेको मापदण्ड अनुसार क्वारेन्टाइन संचालन गर्न सिमित स्रोत साधन पर्याप्त नहुने उनको भनाइ छ ।

महानगरका सल्लाहकार प्रफुल्लमान सिंह प्रधानले क्वारेन्टाइसँगै स्वयसेवक जनशक्ति पनि तयार गर्न तालिम आवश्यक भएको बताए । ललितपुर महानगर वडा नं ३ का वडा अध्यक्ष श्रीगोपाल महर्जनले स्थानीय तहले आफ्नो क्षमता र आवश्यकता अनुसार सम्पूर्ण क्षेत्रको मापदण्ड तयार गर्नुपर्ने बताए । उनले आफ्नो धरातल अनुसार योजना बनाए नागरिक लाभान्वित हुने स्पष्ट पारे । अप्ठ्यारो परेको अवस्थामा जनताले जनप्रतिनिधिको परीक्षण गर्ने भएकाले जनताको परीक्षणमा चुक्न नहुने उनको भनाइ छ । वडाअध्यक्ष महर्जनले मेयर्स फोरमले पनि क्वारेन्टाइन संचालन सम्बन्धमा विशेष निर्णय गर्नुपर्ने धारणा राखे ।

त्यस्तै वडा नं २१ का अध्यक्ष रविन्द्र महर्जनले आफ्नो क्षमता र आवश्यकता अनुसार जनताको आवश्यकता बुझेर काम गर्नुपर्ने बताए । उनले ललितपुर महानगरभित्र क्वारेन्टाइन आवश्यक भएकाले संचालनमा ढिलाइ गर्न नहुनेमा जोड दिएका छन् ।

Logo