काठमाडौं ।
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सरकारले घोषणा गरेको लकडाउनको पालना गर्न र सामाजिक दुरी कायम गर्न अपिल गरेका छन् ।
विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) को संक्रमणबाट जोगिन सरकारले लागू गरेका आदेशहरुको पालना गर्न र सामाजिक दुरी कायम गर्न सम्पूर्ण नेपालीहरुलाई अपिल गरेका हुन् ।
देउवाले सीमा पारी अलपत्र परेका नागरिकलाई उद्दार गरी क्वारेन्टाइनमा राख्न समेत सरकारलाई आग्रह गरेका छन् । सरकारलाई पारदर्शी रुपमा स्वास्थ्य सामग्रीको खरिद गर्न र कति दिन लकडाउन गर्नुपर्ने हो त्यसको अध्ययन गरेर अगाडि बढन समेत देउवाले अनुरोध गरेका छन् । सरकारले आशंका लागेका सबै नागरिकको परीक्षण गर्ने व्यवस्था मिलाउन तत्काल काम गर्नुपर्नेमा उनले जोड दिए ।
स्वास्थ्यकर्मी, सुरक्षाकर्मी र सञ्चारकर्मीहरुलाई समेत उच्च सतर्कता अपनाएर काम गर्न सभापति देउवाले आग्रह गरेका छन् । यस्तै नेपाली कांग्रेसका सम्पूर्ण सदस्य एवं कार्यकर्ताहरुलाई उच्च सतर्कताका साथ प्रचार प्रसारमा लाग्न र जनतामा सचेतना फैलाउन समेत उनले आग्रह गरे । राजनीतिक दल शुभेच्छुक संस्थाहरुलाई देशमा भित्रिएको संकटमा एकजुट भएर लाग्न समेत आग्रह गरे ।
विदेशमा रहेका नेपाली नागरिकहरुलाई उच्च सतर्कताका साथ स्वास्थ्यको ख्याल गर्न समेत देउवाले अपिल गरेका छन् । सभापति देउवाले विदेशमा कोरोना संक्रमणबाट भएको नेपालीहरुको मृत्युप्रति दुःख व्यक्त गरेका छन् ।





























प्रतिक्रिया