परिस्थितिको समीक्षा गर्दै युद्धस्तरमा अघि बढौँ : काँग्रेस सभापति

परिस्थितिको समीक्षा गर्दै युद्धस्तरमा अघि बढौँ : काँग्रेस सभापति


काठमाडौँ ।

नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले विश्वव्यापी महामारीका रुपमा फैलिएको कोभिड–१९ को सङ्क्रमण रोकथाम र उपचार सम्बन्धमा हालसम्मको आफ्नो कार्यप्रगति र कमजोरीको वस्तुगत समीक्षा गरेर सरकारलाई प्रभावकारीरूपमा गति बढाउन आग्रह गरेका छन् ।

उनले कोरोना भाइरसको सङ्क्रमणसँग जुध्न नेपाल सरकारले निर्धारण गरेका रणनीतिलाई सबैले आत्मसात् गर्न जरुरी रहेको उल्लेख गर्दै पुरानो र अनुभवी दलको नाताले आजको चुनौती सामना गर्न सरकारलाई हर तरहले सघाउन काँग्रेस तत्पर रहेको र सघाइरहेको स्मरण गराए । “यो हामी सबैको साझा सङ्घर्ष हो, अतः सरकारमा सँगै नरहेर पनि यस्तो अभियानमा सँगै लड्न सकिन्छ भन्ने भावनामा हामी दृढ ढङ्गले प्रतिबद्ध छौँ”, सभापति देउवाले भनेका छन् ।

तत्काल सबै स्थानमा स्वास्थ्य सामग्री पु¥याउन आग्रह

लकडाउनलाई अझ इमानदारीसाथ पालना गर्न र गराउन पार्टीका नेता कार्यकर्ता एवं समस्त नेपालीमा पुनः अपिल गर्दै सभापति देउवाले सरकार र समुदायको ऐक्यबद्ध अभियानलाई अझ व्यवस्थित र प्रभावकारी बनाउन विभिन्न सुझाव दिएका छन् । आयात गरे पश्चात् पनि व्यक्तिगत सुरक्षा उपकरण (पिपिइ) लगायत अत्यावश्यक सामग्री अझै कयौँ ठाउँमा नपुगेको विवरण प्राप्त भएको बताउँदै उनले तत्काल सबै स्थानमा सामग्री पु¥याउन अपिल गरे ।

सभापति देउवाले एक अपिलमार्फत स्वास्थ्यकर्मीको उच्च मानवीय भावना र समर्पणले यो भाइरसलाई परास्त गर्न सकिने बताउँदै नेपालभरिका स्वास्थ्यकर्मीप्रति सबै नेपालीको गहिरो भावनात्मक स्नेहको साथ रहेकोे स्मरण गराएका छन् ।

“आर्थिक राहतको व्यवस्थित प्याकेज घोषणा गर्न हामीले अपिल गरी आएका थियौँ । आएको प्याकेज एक हदसम्म सकारात्मक भए पनि यो पर्याप्त छैन । ब्याजको किस्ता तिर्ने समयावधि थपेर मात्र पुग्दैन सबै खाले व्यवसायीको ऋणको ब्याज घटाएर राज्यले प्रतिकूलतामा राहत अनुभूति गराउनु पर्दछ । अझ २० लाखसम्म ऋण लिएर व्यवसाय गरिरहेका साना व्यवसायीका हकमा तीन महिनासम्मको ब्याज मिनाहा नै गर्न म फेरि पनि सरकारलाई अपिल गर्दछु”, उनले भनेका छन् ।

बृहत् राहत प्याकेज ल्याउन सुझाव

रोजगार कार्यक्रमका नाममा अघिल्लो वर्ष अनुत्पादक ढङ्गले अर्बौं रुपैयाँ ब्यय भएको बताउँदै सभापति देउवाले लकडाउनको यो समयमा कष्ट भोगिरहेका बेरोजगार एवं अध्ययनका लागि शहरी क्षेत्रमा डेरा बसेका विद्यार्थीलाई फरक राहतको कार्यक्रम ल्याउनु सरकारको दायित्व रहेको पुनः स्मरण गराएका छन् । लकडाउनले व्यवसायलाई परेको प्रत्यक्ष असरले विज्ञापनको क्षेत्रलाई सोझै आघात पु¥याएको र त्यसको परिणाममा सञ्चारमाध्यमले पनि त्यसको असर ब्यहोर्नु पर्ने उनको भनाइ छ । राज्यको चौथो अङ्ग तथा त्यसमा कार्यरत श्रमजीवी पत्रकारको हकमा अलग्गै राहत योजनाको निर्माण गर्न सभापति देउवाले सरकारलाई आग्रह गरेका छन् ।

नेपालमा रहेका आफ्ना नागरिक कयौँ देशले चार्टर विमानद्वारा उद्धार गरी स्वदेश लगिरहेको बताउँदै सभापति देउवाले विभिन्न देशबाट आफ्नो देश फर्कन चाहनेको हकमा तथा अध्ययन, श्रम र तीर्थयात्रा क्रममा भारतको विभिन्न राज्यमा अड्किएका नेपालीको उद्धार गर्न सरकारले जरुरी कूटनीतिक पहल गर्न अत्यावश्यक रहेको उल्लेख गरेका छन् । उद्धारपूर्वको अवस्थामा आवश्यक गाँसबासको ब्यवस्थापनका लागि दूतावासमार्फत स्थानीय रूपमा पहल गर्न पनि काँग्रेसले सरकारलाई आग्रह गरेको छ ।

विदेशबाट आएकाको तथ्याङ्क सार्वजनिक गर्न आग्रह

यसैबीच नेपाली काँग्रेसका नेता एवं काठमाडौँ महानगरका प्रमुख पदका उम्मेदवार राजुराज जोशीले काठमाडौँमा विदेशबाट आएका व्यक्तिको तथ्याङ्क र उनीहरुको अवस्थाका बारेमा सार्वजनिक गर्न काठमाडौँ महानगरका प्रमुख विद्यासुन्दर शाक्यलाई आग्रह गरेका छन् ।

उनले महानगरका ३२ वटै वडामा कति व्यक्ति हालै विदेशबाट आएका छन् तिनीहरुको तथ्याङ्क सार्वजनिक गरेर क्वारेन्टाइनमा बसेको या नबसेको तथा आइसोलेसनमा लैजान पर्ने भए सो गरेको वा नगरेको बारेमा यकिन गर्न आग्रह गरेका हुन् ।

नेता जोशीले एक प्रेस विज्ञप्तिमार्फत महानगरपालिका जनताको स्वास्थ्य जस्तो गम्भीर विषयमा संवेदनशील नभएको आरोप लगाउँदै कोरोना भाइरसको सङ्क्रमणका बेला जनतालाई उपभोग्य वस्तु वितरणमा सहज बनाउनसमेत प्रमुख शाक्यलाई अनुरोध गरेका छन् ।रासस

Logo