काठमाडौं ।
प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसद एवं पूर्वमहामन्त्री प्रकाशमान सिंहले लकडाउनको समयमा दैनिक ज्यालादारी गरेर जीवन चलाउनुपर्ने समुदायका लागि तत्काल राहतको प्याकेज ल्याउन सरकारसँग माग गरेका छन् । महामन्त्री सिंहले आइतबार प्रेस विज्ञप्ति जारी गर्दै सरकारसँग त्यस्तो माग गरेका हुन् ।उनीद्धारा जारी विज्ञप्तिमा लेखिएको छ–‘लकडाउनले श्रमजीवी तथा विपन्न वर्गलाई दैनिक गुजारा चलाउन समेत कठिन भएकाले तत्काल राहत प्याकेज ल्याउन नेपाल सरकारसँग जोडदार माग गर्दछु ।’
त्यस्तै सांसद सिंहले सर्वसाधारणको लागि दैनिक उपभोग्य वस्तुहरुको अभाव हुन नदिन औषधि उपकरणहरुको पर्याप्त व्यवस्था, उपचारमा संलग्न चिकित्सक तथा सम्पूर्ण टिमको लागि अत्यावश्यक सुरक्षा उपकरण र उनीहरुको हौसला बढाउने खालका निर्णय लिन पनि सरकारसँग माग गरेका छन् । उनले विश्वव्यापी महामारीको रुपमा फैलिएको नोवेल कोरोना भाइरस सम्बन्धी सचेतना जगाउँन प्रदेश सरकार, स्थानीय सरकार, पार्टीका आम कार्यकर्ता पंक्तिलाई पनि जनताको सेवामा लाग्न अनुरोध गरेका छन् ।
त्यस्तैगरी नेता सिंहले कोरोना भाइरसबाट नेपाललाई जोगाउन लकडाउन मात्र पर्याप्त नभएको उल्लेख गरेका छन् । लकडाउनका साथै पर्याप्त मात्रामा परीक्षण गर्ने व्यवस्था मिलाउँन सरकारसँग उनको माग छ । उनले विज्ञप्तिमा लेखेका छन्–‘कोरोना भाइरसबाट हुन सक्ने क्षति न्यूनीकरण गर्न लकडाउनमात्र पर्याप्त छैन । यसको पूर्ण पालना र धेरैभन्दा धेरै व्यक्तिहरुको स्वास्थ्य परीक्षण गर्न जरुरी भइसकेको छ । त्यसैले सम्भव भएसम्म धेरै स्थानमा धेरै जनाको स्वास्थ्य परीक्षणको व्यवस्था मिलाउन र त्यो परीक्षणको नतिजा छिटो निकाल्ने व्यवस्था मिलाउन नेपाल सरकारलाई मेरो आग्रह छ ।’
उनले देशमा कोरोनाको संक्रमण देखिइसकेको अवस्थामा सरकारको काम गर्ने शैलि सुस्त भएको आरोप समेत लगाएका छन् । त्यस्तै उनले सरकारलाई विदेशस्थित नेपालीहरुको अवस्था र सुरक्षामा समेत ध्यान दिँदै नेपाली दूतावासहरुलाई अझ प्रभावकारी बनाउन अपिल समेत गरेका छन् ।






























प्रतिक्रिया