पिपिई हस्तान्तरणमा निजी क्षेत्र अग्रसर

पिपिई हस्तान्तरणमा निजी क्षेत्र अग्रसर


काठमाडौं ।

कोरोना भाइरस परीक्षण गर्न चिकित्सकले प्रयोग गर्ने व्यक्तिगत सुरक्षात्मक उपकरण (पिपिई) को अभाव भइरहँदा व्यक्तिगतस्तरबाट सरकारलाई सहयोग हुन थालेको छ ।

इन्ट्रिग्रेटेड ग्रुप नेपालका कार्यकारी अध्यक्ष, सिन्धुपाल्चोक बलेफी गाउँपालिकाका व्यवसायी भरत पराजुलीले आज स्वास्थ्य मन्त्रालयको आपत्कालीन तथा विपद् व्यवस्थापन इकाइलाई ४० सेट पिपिई हस्तान्तरण गरेका छन् ।

हरेक पिपिई सेटमा ‘एन–९५’ मास्क, चस्मा, पञ्जा, हेलमेट, शरीरमा लाउने कपडा, जुत्ता, स्यानिटाइजर, जुत्ता कभरसहित आठ प्रकारका स्वास्थ्य सामग्री रहेका छन् । हस्तान्तरण गरिएका पिपिई सेट विश्व स्वास्थ्य सङ्गठनको मापदण्ड अनुरुपका छन् ।

पराजुलीले सबै सामग्री नेपालकै बजारबाट किनेको जानकारी दिए । “एक सेट पिपिईको मूल्य अभिवृद्धिकर (भ्याट) बाहेक आठ हजार ५०० प¥यो, उनले भने, “कोरोना उपचारमा संलग्न चिकित्सकको आत्मबल बढोस् भनेर आफूले सकेको सहयोग गरेको हुँ ।”

उनले अरुले पनि यस्ता सेट सहयोग गर्न सके महामारीका बीचमा उपचारमा संलग्न स्वास्थ्यकर्मीको मनोबल उच्च हुने विश्वास व्यक्त गरे । “यो एउटा नेपाली नागरिकको दायित्व निर्वाह गरेको हुँ”, उनले भने ।

पिपिई सेट बुझेपछि स्वास्थ्य मन्त्रालयका प्रमुख विशेषज्ञ डाक्टर रोशन पोखरेलले अहिलेको आवश्यकता नै पिपिई भएको बताए। सो सेटले ज्वरो क्लिनिक, आइसोलेसनमा भएका बिरामी हेर्न डक्टर, नर्स र अरु मानिसलाई पनि काम गर्न सजिलो हुने डा पोखरेलको भनाइ छ ।

पिपिई सेट प्रमुख विशेषज्ञ डा पोखरेल र मन्त्रालयका नीति तथा योजना तथा अनुगमन महाशाखाका प्रमुख डा गुणराज लोहनीको उपस्थितिमा हस्तान्तरण गरिएको थियो ।

सनराइज बैंक सहयोग

यस्तै सनराइज बैंकले वीर अस्पताल र शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका डाक्टर तथा नर्सका लागि आवश्यक व्यक्तिगत सुरक्षात्मक उपकरण पिपिई २५ थान उपलब्ध गराएको छ । कोरोना भाइरसको उपचारमा खटिने चिकित्सक र नर्सका लागि पिपिई दिएको बैंकले जनाएको छ ।

बैंकका प्रमुख कार्यकारी अधिकृत जनक शर्मा पौड्यालले आज वीर अस्पतालका निर्देशक डा केदार सेन्चुरीलाई २५ थान पिपिई हस्तान्तरण गरे । साथै शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा डा सुशील शर्मालाई पनि २५ थान पिपिई हस्तान्तरण गरे ।रासस

Logo