काठमाडौं ।
नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले कोभिड–१९ को सङ्क्रमणबाट बच्न लागु गरिएको लकडाउनका कारण विभिन्न वर्ग र क्षेत्रमा परेको आर्थिक असरलाई दृष्टिगत गरेर तत्काल आवश्यक निर्णय लिन सरकारको पुनः ध्यानाकर्षण गराएका छन् ।
उनले एक विज्ञप्तिमार्फत उक्त विषयमा सरकारसमक्ष कुरा गरिसकेको उल्लेख गर्दै सार्वजनिक अपिल साथ माग राखी पुनः सरकारको ध्यानाकर्षण गराएका हुन् । सभापति देउवाले दिनभर काम गरेर साँझ खाने वर्गलाई लकडाउनले सबैभन्दा बढी असर पु¥याएको उल्लेख गर्दै दैनिक ज्यालादारीमा निर्भर रहेका नागरिकलाई सरकारले तोकेको न्यूनतम ज्यालादरमा कम नहुने गरी तत्काल विशेष राहत प्याकेज घोषणा गर्न अनुरोध गरेका हुन् ।
उनले न्यून आय भएका कर्मचारी, अन्य श्रमिक, बेरोजगार युवा तथा राजधानी लगायत शहरी क्षेत्रमा डेरा गरेर बसेका विद्यार्थीलाई राहत पुग्ने गरी योजना र कार्यक्रम तत्काल निर्माण गर्न सरकारसँग माग गरेका छन् । विश्वभरि फैलिएको कोरोना भाइरसबाट सुरक्षित हुन र जुध्न सहज होस् भनेर नेपाल सरकारले लकडाउन घोषणा गर्नु स्वाभाविक भएको र छिटपुट घटनाबाहेक यसलाई अधिकतम पालना गरेकामा उनले सबैलाई धन्यवाद दिएका छन् ।
ठूलो जोखिमबाट जोगिन वर्तमान कष्ट उठाउनु सबैको कर्तव्य भएको र घरमै बसेर सुरक्षित रहन तथा लकडाउनलाई इमानदारीसाथ पालना गर्न सभापति देउवाले सबैलाई अनुरोध गरे । यसैगरी लकडाउनका कारण प्रायः सबै व्यवसाय बन्द स्थितिमा रहेको बेला खुद्रा व्यापारीदेखि ठूला व्यवसायीसम्मलाई असर पुगेको उल्लेख गर्दै उनले यसले राष्ट्रलाई दूरगामी असर पुग्ने भनी चिन्ता व्यक्त गरेका छन् ।
सभापति देउवाले २० लाखसम्मको ऋण लिएका साना व्यवसायीलाई लकडाउनको असर र व्यवसाय तङ्ग्रिने अनुमानित अवधिसमेत ख्याल गर्दै कम्तीमा तीन महिनाको ब्याज पूरै मिनाहा गर्न र त्यसपछिको निश्चित अवधिका लागि ब्याजदर घटाउन माग गरेका छन् ।
साथै ठूला व्यवसायीका हकमा ऋणको ब्याजदर घटाउन र हालको किस्ता बुझाउने अवधि तीन महिनापछि सार्ने प्रबन्ध मिलाउन उनले सरकारसमक्ष अपिल गरेका छन् । सभापति देउवाले साप्ताहिकपछि दैनिक पत्रपत्रिका बन्द हुने स्थितिमा पुगेको उल्लेख गर्दै सबैखाले सञ्चारमाध्यम र त्यसमा कार्यरत श्रमजीवी पत्रकारलाई राहतको योजना निर्माण गर्न सरकारको ध्यानाकर्षण गराए ।
उनले विश्व स्वास्थ्य सङ्गठनले सचेत हौं भनेर अपिल गरेको महिनादिन पुगिसक्दा पनि स्वास्थ्यकर्मीले अझै पर्याप्त व्यक्तिगत सुरक्षा उपकरण (पिपिई) नपाएको विषय भएको उल्लेख गर्दै सरकारलाई यथाशीघ्र पिपिई, परीक्षण किट, आइसोलेशन वार्ड र भेन्टिलेटरको पर्याप्त प्रबन्ध गर्न अपिल गरेका छन् ।रासस





























प्रतिक्रिया