काठमाडौँ ।
दल विवाद समाधान गर्नु निर्वाचन आयोगको पहिलो प्राथमिकता रहेको नेपाल कम्यूनिष्ट पार्टी (नेकपा) दाहाल–नेपाल समूहका वरिष्ठ नेता झलनाथ खनालले बताएका छन् । मंगलबार उनले नेकपा प्रचण्ड–नेपाल निर्वाचन आयोग समक्ष पार्टीको आधिकारिकता दाबी गर्ने क्रममा दलको समस्या समाधान नभइ निर्वाचन हुन नसक्ने बताए ।
दल ऐनमा टेकेर आयोगले पार्टीको निर्णय र विधानको आधारमा ठोस निर्णय गर्नुपर्ने उनको भनाई छ । पार्टीको आधिकारिकता आफूहरुले पाउने विश्वास समेत उनले व्यक्त गरेका छन् । उनले पार्टीको ७० प्रतिशतभन्दा बढी केन्द्रीय कमिटी सदस्यहरुको उपस्थितिमा बसेको केन्द्रीय कमिटीको बैठकको निर्णय, तथ्य, प्रमाण र नेकपाको विधान लगायतका सबैकुरा राखेर दाबी प्रस्तुत गरिएको जानकारी दिए । पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाल दुई अध्यक्ष रहेको पार्टी नै आधिकारीक पार्टी भनेर दाबी प्रस्तुत गरेको उनको भनाई छ ।
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड–माधव पक्षका नेता राजेन्द्र पाण्डेले पार्टीको विधान बमोजिम २५ प्रतिशत केन्द्रीय कमिटी सदस्यले बैठक माग गरे अनुसार सोमबार बैठक बसि सो बैठकको निर्णय अनुसार निर्वाचन आयोगमा आधिकारिकता दाबी गरेको बताए । २ सय ७५ जना केन्द्रीय कमिटी सदस्यहरुको हस्ताक्षरसहित निर्वाचन आयोगमा पार्टीको आधिकारिकता दाबी गरिएको उनको भनाई छ ।
नेता पाण्डेले नेकपाको विवाद निरुपण नगरी निर्वाचनको अन्य कार्यक्रम नहुने बताए ।





























प्रतिक्रिया