‘प्रधानमन्त्री ओली हिटलर जस्तै तानाशाह’ : झलनाथ खनाल

‘प्रधानमन्त्री ओली हिटलर जस्तै तानाशाह’ : झलनाथ खनाल

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड–माधव समूहका वरिष्ठ नेता झलनाथ खनालले प्रधानमन्त्री केपी शर्मा ओली हिटलर जस्तै तानाशाह भएको टिप्पणी गरेका छन् ।

शनिबार काठमाडौंमा नेकपा प्रचण्ड–माधव समूह सम्पर्क समन्वय कमिटीद्वारा आयोजित भेला तथा प्रशिक्षण कार्यक्रममा बोल्दै वरिष्ठ नेता खनालले प्रधानमन्त्री ओली हिटलर जस्तै तानाशाह भएको टिप्पणी गरेका हुन् । जर्मनीमा समाजवादी पार्टीबाट हिटलर जन्मिए जस्तै नेपालमा कम्युनिष्ट पार्टीबाट केपी ओली जन्मिएको खनालले बताए।

कहिले काहीं पार्टीको गल्तिका कारण तानाशाहहरु जन्मिने गरेको र त्यसको विरुद्धमा फेरि संघर्ष गर्दै जानुपरेको उनले बताए । वरिष्ठ नेता खनालले शुक्रबार धनगढीमा केपी ओली समूहले गरेको सभालाई पञ्चभेलाको संज्ञा समेत दिएका छन् । विभिन्न ९ जिल्लाबाट बस रिजर्भ गरेर मान्छेहरुलाई पैसा दिएर गराएको भेला २०४६ साल अगाडि पञ्चहरुले गर्ने भेला जस्तै भएको बताए । २०४६ साल अगाडि पञ्चहरुले देशभर भेला गरेको र अहिले पनि ओलीले पञ्चभेला गर्दै हिंडेको बताए। त्यसबेलाका पञ्चहरुको अहिले इतिहास मेटिएर गए जस्तै केही वर्षमै केपी ओलीको पनि अस्तित्व समाप्त हुने बताए।

कार्यक्रममा नेता नारायणकाजी श्रेष्ठले प्रधानमन्त्री ओलीले चालेको असंवैधानिक प्रतिगामी कदम खारेज गरेर प्रतिनिधि सभा सूचारु गर्न नसके देशमा चुनाव पनि नहुने, संसद पनि नहुने र देश प्रतिगमन तर्फ जाने बताए । त्यसैले पार्टीहरुबीच संयुक्त संघर्ष गर्नु पर्ने र संयुक्त संघर्ष हुन नसके समन्वय गरेर भएपनि आन्दोलन गर्नुपर्ने बताए । इतिहासमा पुर्खाहरुले सुन्दर देश सुम्पिएर गएको तर विभिन्न कालखण्डमा जन्मिने तानाशाहहरुको कारण देशमा समृद्धि आउन नसक्दा तिनै पुर्खा, सहिद र आम नागरिकलाई जवाफ दिने ठाउँ नरहेको पनि बताए ।

लोकतन्त्रको निम्ति लड्नेहरु भित्रैबाट लोकतन्त्रका लुटेराहरु जन्मने, लोकतन्त्रलाई अपहरण गर्ने र फेरि पनि प्रतिगमन हुने स्थितिको अन्त्य हुनै पर्ने नेता श्रेष्ठले बताए। प्रतिगमनको खतराबाट देशलाई बचाउन सबैभन्दा पहिला राजनीतिलाई सफा गर्नुपर्ने पनि बताए ।

Logo