काठमाडौं ।
पूर्वप्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का वरिष्ठ नेता माधवकुमार नेपालले जनतालाई खुसी पार्न नसके समाजवाद र कम्युनिष्ट पार्टी नटिक्ने बताएका छन् ।
मदन भण्डारी फाउन्डेशन सामाजिक अभियान विभागले काठमाडौंमा आयोजना गरेको ‘मदन भण्डारी छलफल शृङ्खला –५, नेपाली कम्युनिष्ट आन्दोलनमा जनताको बहुदलीय जनवाद’ कार्यक्रममा बोल्दै नेता नेपालले कम्युनिष्ट पार्टी रहनको लागि जनता खुसी हुनुपर्ने बताएका हुन् ।
उनले २१ औं शताब्दीको जनवादले प्रतिस्पर्धामा श्रेष्ठताको सिद्धान्तलाई अंगिकार गरेको समेत बताए । त्यसैले कम्युनिष्ट पार्टीका नेताले सर्वहारा वर्गको नारा दिएर मात्र नहुने र आफूलाई प्रतिस्पर्धामा श्रेष्ठता कायम गर्न सक्नुपर्ने बताए । उनले समाजवादका राम्रा पक्षलाई लिएर पश्चिम युरोपका केही मुलुकले ठुलो उपलब्धी हासिल गरिसकेको तर समाजवाद मान्नेहरुले पूँजीवादका राम्रा पक्षलाई लिन नसक्दा अझैपनि संघर्ष गरिरहनु परेको बताए ।
उनले जनतासँग एकाकार हुनु, जनताको भाषा बुझ्नु र बोल्नु जनताको भावनासँग सधैं जोडिनु र सम्मान गर्नु, जनतालाई सचेत गराउनु, संगठित र परिचालित गर्नु जनतामाथि असिम भरोसा गर्नु नै जनताको बहुदलीय जनवादको मूल पक्ष भएको बताए । उनले जवज जनतालाई अधिकार सम्पन्न बनाउने विचार भएकाले चिन्तन, काम र आचरण जनताबाट निर्देशित हुनुपर्ने बताए । उनले सुनसान र स्तब्ध निरास वातावरणबीच उत्पन्न द्वीविधालाई समाप्त पार्दै जवज लाइट हाउसको रुपमा विकास भएको समेत बताए ।





























प्रतिक्रिया