काठमाडौँ ।
नेपाली कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले पार्टीले आगामी चैतमा आयोजना गर्न लागेको क्रियाशील सदस्य प्रशिक्षण कार्यक्रमको बहिष्कार गर्ने भएको छ ।
कांग्रेस नेता प्रकाशमान सिंहको निवास चाक्सीबारीमा बुधबार बसेको पौडेल पक्षको भेलाले १४ औं महाधिवेशन प्रभावित गर्नेगरी प्रशिक्षण कार्यक्रम आयोजना गरिएको भन्दै बहिष्कार गर्ने निर्णय गरेको हो । भेलामा सहभागि नेता प्रकाशमान सिंहले म्याद थपेर सहमतिमा महाधिवेशन कार्यतालिका प्रकाशित गर्न सफल भएको अवस्थामा फेरी महाधिवेशनलाई प्रभावित पार्न प्रशिक्षण कार्यक्रम गर्न लागिएकोले बहिष्कार गर्न लागेको बताए ।
कांग्रेसको केन्द्रीय नीति तथा प्रशिक्षण प्रतिष्ठानले आगामी चैतमा पार्टी क्रियाशील सदस्यहरुलाई प्रशिक्षण दिने समय तोकेपछि पौडेल पक्ष असन्तुष्ट भएको हो । कांग्रेसले ७७ जिल्लाका १६५ निर्वाचन क्षेत्रबाट १० हजार क्रियाशील सदस्यलाई प्रशिक्षक प्रशिक्षण दिने तयारी गरेको थियो । तर असन्तुष्ट पौडेल पक्षले भने केन्द्रीय महाधिवेशन नगराउने चलखेल भएको भन्दै बहिष्कार गर्ने निर्णय गरेको हो । भेलामा वरिष्ठ नेता रामचन्द्र पौडेलसहित महामन्त्री शशांक कोइराला, नेताहरु प्रकाशमान सिंह, मिनेन्द्र रिजाल, अर्जुननरसिंह केसी र असन्तुष्ट केन्द्रीय सदस्यहरु तथा काठमाडौंमा उपलब्ध भएका जिल्ला सभापतिहरु र उपसभापतिहरुको सहभागिता रहेको थियो ।





























प्रतिक्रिया