पुस्तकमा कर लगाएको विषयप्रति नेताहरूको आपत्ति

पुस्तकमा कर लगाएको विषयप्रति नेताहरूको आपत्ति

केन्द्रबिन्दु
0
Shares

काठमाडौं । पुस्तकमा कर लगाएकोप्रति नेपाली कांग्रेसका युवा नेता गगन थापाले आपत्ति जनाएका छन् । शुक्रबार ट्वीट गर्दै उनले सो आपत्ति जनाएका हुन् ।

उनले ट्वीटरमा लेखेका छन्–‘ विद्वान अर्थमन्त्रीज्यूले भन्नुभएछ । पुस्तकमा कर लगाएको हो ज्ञानमा होइन, करको विषयमा बहस गर्न तयार छु । मन्त्रिज्यू हामी पनि तयार छौँ । बहस कहाँ गरौं (संसदमा, विश्वविद्यालयमा वा माइतीघर मण्डलामा ? ।’

त्यस्तै समाजवादी पार्टीका संयोजक डा. बाबुराम भट्टराईले पनि किताबमा लगाएको करप्रति आपत्ति जनाएका छन् ।

उनले ट्वीट गर्दै लेखेका छन्–‘किताबमा कर लगाउने अर्थमन्त्रीको कदम सरासर गलत छ । किताब सामान्य भुँडी भर्ने वस्तु नभएर वुद्धिको बिर्को खोल्ने साधन हो । दुबै उस्तै हो भन्नु हात्ती र हात्ती छाप चप्पल उस्तै भने जस्तै हो । अनि किताबमा कर लगाएर नेपाली मुद्रण उद्योगलाई संरक्षण हुने हैन किनकि सबै विदेशी किताब यहाँ छापिने हैन ।’

अर्थ, सञ्चार तथा सूचना प्रविधि मन्त्री एवं सरकारका प्रवक्ता डा.युवराज खतिवडाले बिहिबार नियमित पत्रकार सम्मेलन गर्दै मन्त्रिपरिषद्का निर्णय सुनाउँने क्रममा पुस्तकमा कर लगाएको भएपनि ज्ञानमा कर नलगाएको उल्लेख गरेका थिए ।

उनको भनाइ थियो–‘पुस्तकको पनि व्यापार नै हो, नाफा कमाउनेले कर तिर्नुपर्छ पुस्तकको व्यापार गरी ३० देखि ४० प्रतिशत नाफा कमाउने १० प्रतिशत अनिवार्य कर तिर्नुपर्छ । अन्य मुलुकमा पनि १८ प्रतिशतसम्म कर उठाएको उदाहरण छ ।’

Logo