‘धर्मसंस्कृति कमजोर हुँदा अनैतिकताले प्रश्रय पायो’ : कमल थापा

‘धर्मसंस्कृति कमजोर हुँदा अनैतिकताले प्रश्रय पायो’ : कमल थापा

केन्द्रबिन्दु
0
Shares

तनहुँ ।

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले धर्म संस्कृति कमजोर बनाइएकाले समाजमा अनैतिक कार्यले प्रश्रय पाएको बताएका छन् ।

राप्रपा तनहुँले आज दमौलीमा आयोजना गरेको झण्डोत्तोलन तथा चुनाव चिह्न अनावरण समारोहमा अध्यक्ष थापाले धर्म संस्कृतिमाथि आक्रमण बढेकाले नैतिकताको धरातल कमजोर बनेको बताए । पूर्वउपप्रधानमन्त्रीसमेत रहेका थापाले संसद् विघटनले संवैधानिक जटिलता सिर्जना भएको बताए ।

लोकतन्त्रको नाउँमा विगतमा दलहरुले गलत बीउको बीजारोपण गर्ने काम गरेको आरोप लगाउँदै थापाले नेपाली परिवेश सुहाउँदो प्रजातन्त्रको विकास गर्न आवश्यक रहेकोमा जोड दिए । कांग्रेस र कम्युनिष्टको विकल्प राप्रपा भएकाले सनातन धर्म सापेक्ष हिन्दू राष्ट्रको धरातलमा मात्रै देश विकास सम्भव रहेको थापाले बताए । “राप्रपाले सम्बर्धनवादको नीति अगाडि सारेको छ, प्राचीन मौलिक परम्परा, संस्कृतिको संरक्षण गर्दै नेपाललाई सबल र समुन्नत बनाउने पार्टीको लक्ष्य हो,” उनले भने।

कार्यक्रममा राप्रपाका केन्द्रीय कार्यसम्पादन समिति सदस्य एवं पूर्वमन्त्री दुर्गा श्रेष्ठले राप्रपा एकजुट भएकाले कार्यकर्ता पनि एकजुट भएर सङ्गठन निर्माणमा लाग्नुपर्नेमा जोड दिइन् । केन्द्रीय कार्यसम्पादन समिति सदस्य हेमजङ गुरुङले सनातन हिन्दू राष्ट्र कायम गराउनका लागि लाग्नु पर्ने बताइन् । सो अवसरमा राप्रपालाई स्थापनाकालदेखि सहयोग पुर्याउने भीमबहादुर बस्नेत, प्रेमबहादुर गुरुङ, देवीप्रसाद पौडेल, घनश्याम अधिकारी, अमृतबहादुर थापा, रामबहादुर शाही लगायतलाई अध्यक्ष थापाले दोसल्ला ओढाएर सम्मान गरेका थिए।

Logo