काठमाडौं ।
बुधबार बसेको नेकपा सचिवालय बैठकले राष्ट्रिय सभा सदस्यमा पार्टी उपाध्यक्ष बामदेव गौतमलाई सिफारिस गर्ने निर्णय गरेपछि विवाद चुलिएको छ । सचिवालयको निर्णयप्रति प्रधानमन्त्री केपी शर्मा ओलीले असन्तुष्टि जनाउँदै आएका छन् । उनले आफूविरुद्ध पार्टीभित्र घेराबन्दी गरिएको भन्दै त्यसको सामना गर्न तयार रहेको प्रतिक्रिया दिएका छन् ।
राष्ट्रिय सभा सदस्यमा राष्ट्रपतिले एक जना सदस्यलाई मात्रै मनोनित गर्ने प्रावधान छ । अर्थमन्त्री युवराज खतिवडाको राष्ट्रिय सभा सदस्यको कार्यकाल आगामी फागुन २० गते सकिँदैछ । प्रधानमन्त्री ओलीले पुनः अर्थमन्त्री खतिवडालाई नै राष्टिय सभाको सदस्यमा मनोनित गर्ने बताउँदै आएका छन् । तर सचिवालयले पार्टी उपाध्यक्ष गौतमलाई राष्टियसभामा लैजाने निर्णय गरेपछि पार्टीभित्रको विवाद चुलिएको हो ।
यसअघि उपाध्यक्ष गौतमलाई राष्ट्रिय सभामा लैजान प्रधानमन्त्री ओली पनि राजी थिए । साथै प्रधानमन्त्री ओली राष्ट्रपतिबाट मनोनित गर्ने राष्टिय सभाका सदस्य थप गर्न चाहन्थे र तर उनको यो प्रस्ताव सचिवालयले स्वीकार नगरेको बताइन्छ । योसँगै संविधान संशोधनको प्रस्ताव समेत स्थगन भएको छ । यी यावत घटनाक्रमसँगै प्रधानमन्त्री ओली सचिवालयमा अल्पमतमा परेका छन् ।
यही बेला प्रधानमन्त्री ओलीले प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेस महामन्त्री शेखर कोइरालासँग आज भेटवार्ता गरेका छन् । प्रधानमन्त्री ओलीले कोइरालासँग करिब दुई घण्टा भन्दा बढी कुराकानी गरेका थिए । यो भेटघाटलाई पनि अर्थपूर्णरुपमा हेरिएको छ ।































प्रतिक्रिया