काठमाडौं ।
नेपाली कांग्रेसका नेता गगनकुमार थापाले प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गरेर अनाधिकृत काम गरेको बताएका छन् ।
प्रतिनिधिसभा विघटनको असंवैधानिक र अलोकतान्त्रिक कदमका विरुद्ध शुक्रबार भक्तपुरमा आयोजित बिरोध सभामा बोल्दै नेता थापाले नेपालको संविधानमा ५ वर्ष अघि संसद विघटन गर्ने कुराको कल्पना समेत नगरिएको बताए। संविधानमा बहुमत प्राप्त प्रधानमन्त्रीले संसद भंग गर्न पाउने कुरा कहिँ कतै नलेखेको भन्दै उनले प्रधानमन्त्रीको कदम असंवैधानिकको साथै अनाधिकृत रहेको बताए ।
संविधानमा नलेखेको कुरा सार्वजनिक पदाधिकारीले गर्न नपाउने भन्दै नेता थापाले राष्ट्रपति र प्रधानमन्त्रीले संविधानले अधिकार दिएको बाहेक केही गर्न नपाईने बताए। कांग्रेसले असंवैधानिक, अधिनायकवादी तथा प्रतिगामी कदम भन्दै बिरोधमा उत्रिएको नेता थापाको भनाई छ । सर्वोच्च अदालतले संविधान पल्टाएर हेरि फैसला गर्नुपर्ने र अदालतप्रतिको आस्था कायम राख्नु पर्ने उनले बताए । नेता थापाले प्रधानमन्त्री ओलीले अदालतमाथि मनोवैज्ञानिक दबाब सिर्जना गरेको भन्दै अदालत डराउँदैन भन्ने प्रमाणित गर्नु पर्ने उनको भनाई छ ।
नेता थापाले अदालतले संसद पुनर्स्थापना गर्ने र राष्ट्रपति र प्रधानमन्त्रीलाई घर पठाउने दाबी गरे । असंवैधानिक कदमका विरुद्ध कांग्रेस दह्रो गरि उभिने र देशलाई संवैधानिक संकटमा पर्न नदिने उनको भनाई छ । नेपाली कांग्रेसले सरकारको यस कदमका विरुद्ध विभिन्न विरोधका कार्यक्रम गर्दै आएको छ ।































प्रतिक्रिया