राष्ट्रपति आउने भएर विदा दिएका हौं – नगर प्रमुख

राष्ट्रपति आउने भएर विदा दिएका हौं – नगर प्रमुख

केन्द्रबिन्दु
0
Shares

बैतडी। बैतडीको पाटन नगरपालिका प्रवक्ता लोकबहादुर भण्डारीले राष्ट्रपति विद्यादेवि भण्डारीको भ्रमणलाई लक्षित गरेर भन्दा पनि उत्सव मनाउन विदा दिएको बताएका छन् । पाटन नगरपालिकामा राष्ट्रपतिको आजको भ्रमणलाई लक्षित गरी सार्वजनिक विदा दिएको भन्दै आलोचना बढेपछि त्यसको बचाउ गर्दै प्रवक्ता भण्डारीले सो कुरा बताएका हुन् ।

स्थानीय तहमै प्राविधिक विद्यालय निर्माण भएको अवसरमा विदा दिइएको उनको भनाइ छ । ‘स्थानीय तहले आवश्यकता अनुसार सार्वजनिक विदाको निर्णय गर्ने अधिकार छ’ –उनले भने– ‘राष्ट्रपतिको भ्रमणलाई लक्षित गरी भन्दा पनि विद्यालयको उद्घाटन हुने उत्सवका रुपमा विदा दिएका हौ ।’

फागुन १५ गते देखि राष्ट्रपति भण्डारी चार दिने सुदुरपश्चिम भ्रमणमा छिन् । उनले पाटन नगरपालिका वार्ड नम्बर ६ मा निर्माण भएको भिमदत्त पोलिटेक्निक कलेजको उद्घाटन गर्ने कार्यक्रम रहेको छ । सोही कार्यक्रमलाई लक्षित गर्दै पाटन नगरपालिकाले सार्वजनिक विदा दिने निर्णय गरेको थियो ।

तर, नगरपालिका प्रमुख केशवबहादुर चन्दले बैतडी जिल्लामा नै राष्ट्रपतिको पहिलो औपचारिक भ्रमण भएकाले विदा दिइएको बताए । सुदूरपश्चिममा रहेको बैतडी जिल्लामा राष्ट्रपति आउनु ऐतिहासिक क्षण भएकाले स्वागत गर्न विदा दिइएको उनको भनाइ छ । उनले भने–‘ केन्द्रदेखि नजिक रहेका जिल्लामा उच्चपदस्थ व्यक्तिको भ्रमण हुनु नौलो कुरा होइन । तर, बैतडी जिल्लामा आउनु ऐतिहासिक क्षण हो । राष्ट्रध्यक्ष आफ्नै घर–आँगनमा आउने भएकाले स्वागत गर्न विदा दिएका हौ ।’

त्यस्तै बैतडी कै दशरथचन्द नगरपालिकाले पनि बिहीबार सार्वजनिक विदा दिएको छ । राष्ट्रपति विद्यादेवि भण्डारीको अभिनन्दन कार्यक्रम रहेको भन्दै सार्वजनिक विदाको सूचना प्रकाशन गरेको हो । गत फागुन ११ गते प्रधानमन्त्री केपी शर्मा ओलीको ६९ औँ जन्मदिन मनाउन तेह्रथुमको आठराई गाउँपालिकाले सार्वजनिक विदा दिएको थियो ।

Logo