‘प्रधानमन्त्री ओली हिटलर बन्न खोजे’ : कांग्रेस सांसद रायमाझी

‘प्रधानमन्त्री ओली हिटलर बन्न खोजे’ : कांग्रेस सांसद रायमाझी

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।

नेपाली कांग्रेसका राष्ट्रिय सभा सदस्य रमेशजंग रायमाझीले प्रधानमन्त्री केपी शर्मा ओली हिटलर बन्न खोजेको टिप्पणी गरेका छन् ।

बिहीबारको राष्ट्रिय सभा बैठकको विशेष समयमा बोल्दै रायमाझीले प्रधानमन्त्री ओलीले संविधान नमानेर हिटलर प्रवृति देखाएको बताएका हुन् । प्रधानमन्त्री ओलीले आफूले संविधान मान्न नपर्ने तर अरु सबैले मान्नु पर्ने सोचाई राखेको भन्दै सांसद रायमाझीले हिटलरको संज्ञा दिएका हुन् ।

यस्तै प्रधानमन्त्री ओलीले प्रधानमन्त्री पदमा रहने आफ्नो योग्यता गुमाइसकेको समेत सांसद रायमाझीले बताए । संविधान अनुसार प्रधानमन्त्री रहन प्रतिनिधि सभाको सदस्य हुनुपर्ने, बुहमत सांसदको समर्थन हुनु पर्ने र मानसिक अवस्था ठीक भएको हुनुपर्ने रहेको तर अहिले प्रधानमन्त्रीले असंवैधानिक कदम चालेकाले मानसिक सन्तुलन गुमिसकेको भन्न मिल्ने की नमिल्ने भन्दै प्रश्न गरे ।

सांसद रायमाझीले सरकारले जस्तोसुकै कदम मान्न बाध्य पारेर राष्ट्रपति संस्थाको बदनाम गरेको समेत बताए। प्रधानमन्त्रीले राष्ट्रपतिलाई असंवैधानिक काम गर्न लगाएको समेत आरोप लगाए ।

मुलुकलाई अहिलेको अवस्थामा ल्याउन कम्युनिष्ट पार्टी जिम्मेवारी भएको समेत सांसद रायमाझीले बताए । उनले प्रधानमन्त्रीले अदालतलाई प्रभावित गर्ने गरी बोल्दै हिंडेको समेत बताए। परम्परालाई देखाएर प्रतिनिधिसभा विघटन गरिएको भन्दै सांसद रायमाझीले २ सय ३७ वर्षको परम्परालाई नै व्युँताउन खोजिएको हो भन्दै प्रश्न समेत गरे। प्रधानमन्त्री ओलीकै कारण अहिले राजावादीहरु सलबलाएको समेत बताए।

सांसद रायमाझीले प्रधानमन्त्री ओलीलाई संविधान राम्रोसँग पढन समेत आग्रह गरे। सरकारले संमृद्धिको सपना देखाएको तर संमृद्धिका लागि कुनै काम नगरेको पनि रायमाझीले बताए । कोभिडमा भ्रष्ट्राचार भयो, गोकर्ण रिसोर्टको विषयमा ५० करोड रुपैयाँ बढी अनियमितता भयो तर कम्युनिष्ट नेताहरुले प्रश्न नउठाउँदा अहिलेको अवस्था आएको बताए। कोभिडका कारण आक्रान्त भएका नागरिकको उपचार गर्न पैसा नहुने तर चुनाव गर्नका लागि अर्बौं रुपैंयाँ कहाँबाट आउँछ भन्दै प्रश्न गरे।

Skip This
Skip This
Logo