काँग्रेसले दिगो विकासलाई अगाडि बढाउनुपर्छ : वरिष्ठ नेता पौडेल

काँग्रेसले दिगो विकासलाई अगाडि बढाउनुपर्छ : वरिष्ठ नेता पौडेल


काठमाडौँ ।

नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले सरकारले विकासका कामलाई प्राथमिकता नदिएको भन्दै काँग्रेसले लोकतान्त्रिक ढङ्गबाट दिगो विकासलाई अगाडि बढाउनुपर्ने बताएका छन् ।

सेन्टर फर डेमोक्रटिक इञ्जिनीयर्स नेपाल (सिडेन) ले आयोजना गरेको ‘दिगो पूर्वाधार विकास राजनीति, अर्थतन्त्र र वातावरण’ विषयक दुईदिने सम्मेलनको सोमबार समापन गर्दै वरिष्ठ नेता पौडेलले विकासका लागि लोकतान्त्रिक शक्तिहरु एक जुट हुनुपर्ने बताए । उनले भने, “अहिले दुई तिहाइको सरकारले पनि जनताको काम गर्न सकेको छैन, यस्तो बेलामा काँग्रेस एकजुट भएर दिगो विकासमा जुट्नुको विकल्प छैन ।”

काँग्रेसका नेता एनपी साउदले काँग्रेसले आन्तरिक द्वन्द्वलाई व्यवस्थापन गर्दै देश र जनताको पक्षमा कटिबद्ध भएर काम गर्नुपर्ने आवश्यकता औँल्याए । नेता साउदले सरकारले शान्ति सुरक्षा कायम गर्न नसकेको भन्दै भ्रष्टाचार मौलाउँदै गएको टिप्पणी गरे ।

सिडेनका अध्यक्ष शङ्कर पण्डितले मुलुकमा राजनीतिक स्थिरता हुँदा विकासले गति लिन नसकेको भन्दै चिन्ता व्यक्त गरे । दुई दिनसम्म सञ्चालन भएको सम्मेलनमा सात प्रदेश र ७७ जिल्लाका गरी २५० भन्दा बढी इञ्जिनीयरको सहभागिता रहेको थियो ।
रासस

Logo