‘सत्तारुढ नेकपा पूर्णरुपमा असफल’ : जनता समाजवादी पार्टी

‘सत्तारुढ नेकपा पूर्णरुपमा असफल’ : जनता समाजवादी पार्टी

केन्द्रबिन्दु
0
Shares

काठमाडौं।

जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष महन्थ ठाकुरले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) असफल भएको बताएका छन् ।

मंगलबार जनता समाजवादी पार्टी, नेपालले गरेको सरकारको असंवैधानिक कदम र राजनीतिक संकट विषयक अन्तर्क्रिया कार्यक्रममा बोल्दै अध्यक्ष ठाकुरले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को ठूलो बहुमत हुँदाहुँदै पनि राजनीतिक स्थिरता दिन नसकेकोले नेकपा र नेकपाको सरकार नै असफल भएको बताए । सत्ताधारीहरुले आफ्नो अधिकार सुरक्षित राख्नका निम्ति मात्रै कदम उठाउने गरेको भन्दै ठाकुरले सरकारले अहिले चालेको असंवैधानिक कदम पनि आफूलाई सुरक्षित राख्न गरिएको बताए ।

कार्यक्रममा बोल्दै जसपाका अर्का अध्यक्ष उपेन्द्र यादवले प्रतिनिधिसभा विघटन गरेर संविधानलाई नै मरेतुल्य तुल्याएको टिप्पणी गरे । फेरि फेरि पनि सरकारले यस्ता स्वेच्छाचारी कदम चाल्ने हुन् कि भन्ने डर सिर्जना गरिदिएको उनको भनाई छ ।

असंवैधानिक कदमका विरुद्ध राजनीतिक शक्तिको ध्रुविकरणको आवश्यकता रहेको उनले बताए। गैरसंवैधानिक हिसाबले चालेको कदमले संसदको विघटन हुन नसक्ने भन्दै उनले संसदको काम कारबाहीको जिम्मेवारी सभामुखको काँधमा रहेको बताए ।

जनता समाजवादी पार्टी, नेपालले प्रतिनिधि सभा विघटनको असंवैधानिक कदमका विरुद्ध विभिन्न विरोधका कार्यक्रमहरुको आयोजना गर्दै आएको छ ।

Logo