कांग्रेस १४ औं महाधिवेशनको कार्यतालिका संशोधन हुने

कांग्रेस १४ औं महाधिवेशनको कार्यतालिका संशोधन हुने

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।

नेपाली कांग्रेसका दोस्रो तहका नेताहरूबीच पार्टीको १४ औं महाधिवेशनको मिति कायम राखेर अन्य कार्यतालिका हेरफेर गर्ने समझदारी बनेको छ । पार्टीभित्र उत्पन्न विवाद समाधान गर्न सोमबार केन्द्रीय कार्यालय सानेपामा उपसभापति विमलेन्द्र निधि, पूर्वमहामन्त्रीद्वय प्रकाशमान सिंह र कृष्णप्रसाद सिटौलाबीच भएको छलफलमा २०७७ फागुन ७ देखि १० गतेसम्म १४ औं महाधिवेशन गर्ने अन्तिम मितिलाई यथावत राखेर अन्य कार्यतालिका संशोधन गर्न नेताहरू सहमत भएका हुन् ।

तल्लो तहमा अधिवेशनको कार्यतालिका कति र कहिलेका लागि सार्ने सहितका विषयमा सभापति शेरबहादुर देउवा, नेता रामचन्द्र पौडेलसतिहका नेताहरूको बैठकले टुंगो लाग्ने भएको छ। नेता पौडेल पक्षको नेतृत्व गर्दै बैठकमा सहभागी पूर्वमहामन्त्री सिंहले देउवा र पौडेलसहितका नेताबीचको छलफलपछि मात्र कार्यतालिका कति सार्ने भन्ने निर्णय गर्नु उपयुक्त हुने प्रस्ताव गरेको स्रोतको दाबी छ।

सिंहको प्रस्ताव अनुसार नै राष्ट्रियसभा सदस्य निर्वाचनपछि सभापति देउवाले नेता पौडेलसहितको बैठक बोलाउने समझदारी तीन नेताबीच भएको छ। नेता पौडेलसहित असन्तुष्ट पक्षले १४ औं महाधिवेशन २०७७ को मंसिरमै हुनुपर्ने अडान राख्दै आएको थियो । तीन नेताहरूबीच पार्टीको प्रमुख भ्रातृ संगठन नेपाल विद्यार्थी संघ, नेपाल तरुण दल गठनका विषयमा पनि छलफल भएको छ। पूर्व समझदारी अनुसार पौडेल पक्षले संघमा ४० प्रतिशत र तरुण दलमा ३५ प्रतिशत पाउनुपर्ने अडान दोहो¥याएको छ । तर पुरानो वा नयाँ विधान अनुसार कार्यसमिति गठनमा असन्तुष्ट पक्ष लचिलो देखिएको छ। स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन संघारमा आएको भन्दै उपसभापति निधिले नेवि संघको नेतृत्व तत्काल टुंगो लगाउनुपर्ने प्रस्ताव गरेका छन् । निधिको प्रस्तावलाई दुवै नेताहरूले सकारात्मक रूपमा लिए पनि भ्रातृ संगठन र पार्टीभित्र देखिएको विवाद अब लम्व्याउन नहुने धारणा राखेको स्रोतको दाबी छ।

पार्टीको विभाग थपका विषयमा नेताहरूबीच यसअघि नै समझदारीमा पुगेको जनाउँदै असन्तुष्ट पक्षको माग अनुसार केन्द्रीय समितिको पुस ११ गतेको बैठकले निलम्बन गरिएका विधानका धाराहरू फुकुवा गर्न पनि संस्थापन पक्ष लचिलो देखिएको छ । असन्तुष्ट पक्ष पनि महाधिवेशन हुने एक वर्ष पहिला नै स्थानीय तहको अधिवेशन गर्नुपर्ने विधानको व्यवस्था निलम्बन गर्न भने सकारात्मक देखिएको छ।

पुस २९ गते पनि विवाद समाधानका लागि छलफलमा जुटेका तीन नेताले विदेश भ्रमणमा रहेका नेता पौडेल स्वदेश फर्केपछि थप छलफल गर्ने समझदारी गरेका थिए।
नागरिकबाट

Logo