प्रचण्ड–नेपाल पक्ष : पार्टी एकिकरणका बाँकी काम पूरा गर्न सुझावका लागि गृहकार्य टोली गठन

प्रचण्ड–नेपाल पक्ष : पार्टी एकिकरणका बाँकी काम पूरा गर्न सुझावका लागि गृहकार्य टोली गठन

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) पुष्पकमल दाहाल प्रचण्ड–माधवकुमार नेपाल पक्षको स्थायी कमिटी बैठकले पार्टी एकिकरणका बाँकी काम पुरा गर्न सुझावका लागि गृहकार्य टोली गठन गरेको छ ।

पार्टीको केन्द्रीय कार्यालय पेरिसडाँडामा सोमबार बसेको स्थायी कमिटी बैठकले पार्टी संगठनको एकिकरणको बाँकी काम पूरा गर्न सुझाव दिन अध्यक्ष माधवकुमार नेपालको नेतृत्वमा गृहकार्य टोली गठन गरेको हो । टोलीमा स्थायी कमिटी सदस्यहरु अष्टलक्ष्मी शाक्य, गिरिराजमणि पोखरेल, गोकर्ण बिष्ट, घनश्याम भुसाल, जनार्दन शर्मा, पम्फा भुसाल, वर्षमान पुन, बेदुराम भुसाल, भीम रावल, मातृका यादव, लिलामणि पोखरेल, सुरेन्द्र पाण्डे रहेको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।

टोलीले प्रदेश कमिटी, जिल्ला कमिटी, जनवर्गिय संगठन र मोर्चा संगठनहरुको पदाधिकारीको बारेमा तथा पार्टी संगठनको एकिकरणको बाँकी रहेको कामहरु पूरा गर्ने सम्बन्धमा ७ दिन भित्र सुझाव दिई कार्यान्वयनको प्रक्रियामा लगिने उनले बताए ।

त्यसैगरी बैठकले सरकारको प्रतिनिधिसभा विघटनको असंवैधानिक कदमका विरुद्ध गरिएको पहिलो चरणको संघर्षका कार्यक्रम उत्साहपूर्वक सफल भएको समीक्षा गर्दै पौष १८ गते घोषणा गरेको दोस्रोचरणको संघर्षको कार्यक्रम सफल पार्न पार्टी पंक्तिलाई पूर्णरुपमा परिचालन गर्ने निर्णय गरेको प्रवक्ता श्रेष्ठले जानकारी दिए ।

बैठकले असंवैधानिक कदमका विरुद्ध अन्य राजनीतिक पार्टीहरु सँग पनि वार्ता गरि संयुक्त संघर्ष गर्ने पहललाई जारी राख्ने निर्णय पनि गरेको छ । पार्टीको केन्द्रीय संघर्षको अतिरिक्त प्रदेश, जिल्ला, पालिकास्तर तथा वडास्तरसम्म संघर्ष समिति गठन गर्ने निर्णय भएको प्रवक्ता श्रेष्ठले जानकारी दिए। प्रवक्ता नारायणकाजी श्रेष्ठको संयोजकत्वमा रहेको केन्द्रीय संघर्ष समितिको सचिवालय कार्यालय गठन गरिएको र सह–संयोजकको जिम्मेवारी स्थायी कमिटी सदस्यहरु योगेश भट्टराई, पम्फा भुसाल र गणेश शाहलाई दिईएको प्रवक्ता श्रेष्ठले जानकारी दिए।

आइतबारदेखि शुरु भएको स्थायी कमिटी बैठकमा पार्टी अध्यक्षद्वय पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपालले प्रतिनिधिसभा विघटनको असंवैधानिक कदम विरुद्धको संघर्ष सफल पार्न र पार्टी एवम् कम्युनिष्ट आन्दोलनविरोधीलाई पररास्त पार्न दृढतापूर्वक अघि बढ्न आव्हान गरेको प्रवक्ता नारायणकाजी श्रेष्ठले बताए।

Skip This
Skip This
Logo