स्याङ्जा ।
नेपाली कांग्रेसका सहमहामन्त्री डा.प्रकाशशरण महतले नेपाली काँग्रेसमा पछिल्लो चुनाव र त्यसपछि बढ्दो व्यक्ति केन्द्रीत प्रवृत्तिको फाइदा नेपालमा कम्युनिष्टहरुले उठाएको बताएका छन् ।
मुस्लिम संघ स्याङ्जाको तेस्रो अधिवेशनको शनिबार उद्घाटन गर्दै उनले भने– नेपालमा आफैं बलियो भएर र जनताले रुचाएर कम्युनिष्ट शासन आएको होइन, काँग्रेस पार्टीभित्र आफू भए ठीक अरु बेठीक भन्ने प्रवृत्ति तथा काँग्रेसले आफूले गरेको कामको प्रचार गर्न नसक्ने कमजोरीको फाइदा कम्युनिष्टहरुले उठाएका हुन् ।
संसारमा दुर्लभ हुदै गएको कम्युनिष्ट शासनको भ्रष्टाचार, कुशासन तथा एकपछि अर्को गरी जनविरोधी कामहरुका कारण जनतामा निराशा र आक्रोस पैदा भएको मात्र होइन कि अघिल्लो चुनावमा कम्युनिष्टहरुलाई भोट दिएका जनता अहिले आएर निकै पछुताइरहेको उनले बताए ।
महतले जनतामा यो सरकारप्रति बढ्दै गएको निराशाको उदाहरण पछिल्लो उपनिर्वाचन भएको बताए । उनको भनाई थियो, हामीले नजितेको ठाउँहरु धरान र भक्तपुरमा जित्यौँ र अरु ठाउँमा पनि हाम्रो जीत हुने थियो तर सरकारका मान्छे र नेकपाका कार्यकर्ताहरुले जनतालाई घरघरमा पुगेर थर्काएर त्रास फैलाए । पुतलीबजारमा शनिबार आयोजित सो सभालाई प्रमुख अतिथिका रुपमा सम्बोधन गर्दै सहमहामन्त्री डा महतले भने– चुनावका बेला गर्नै नसक्ने कामका एजेण्डा देखाएर जनतालाई लोभ्याए तर अहिले भोट दिएकै जनता उनीहरुदेखि अवाक भएका छन्, पछुताइरहेका छन् ।
सरकारका यस्तै क्रियाकलापको भण्डाफोर गर्न र जनताका गुनासा र उनीहरुका समस्याहरु बुझ्न पनि कांग्रेसले अब देशभर अभियान चलाउनु पर्ने उनले बताए । नेपाली काँग्रेसले ०४६ सालको परिवर्तनपछि देशको शिक्षा, स्वास्थ्य, पूर्वाधार आदि क्षेत्रमा धेरै काम गरेको, प्रमुख प्रजातान्त्रिक आन्दोलनमा नेतृत्व गरेको, संविधान सभाको निर्वाचन गरेको, वि.सं. ०४७ र ०७२ का संविधान उसैको नेतृत्वमा जारी भएको तर पनि काँग्रेसले त्यसको आफैंले प्रचार गर्ने नगरेका कारण जनतामा पुग्न नसकेको उनको भनाई थियो ।





























प्रतिक्रिया