काठमाडौं ।
प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता गगन थापाले सूचना प्रविधि विधेयकबारे छलफलमा आउन संचार मन्त्री गोकुल बाँस्कोटालाई चुनौति दिएका छन् ।
विधेयक नपढी बोलेको भन्ने मन्त्री बाँस्कोटाको अभिव्यक्तिप्रति कटाक्ष गर्दै कांग्रेस नेता थापाले भने, “माननीय मन्त्रीजीले विधेयक नपढी आयो भन्नु भएछ । प्रत्येक दफा, शब्द शब्दमा छलफल गर्ने हो ? तयार छु ।” मन्त्री बाँस्कोटाको शैलीप्रति ब्यङ्ग गर्दै उनले थपे, “नपढी आयो भनेर हेप्नी हामीलाई?”
कांग्रेस भ्रातृ संगठन नेपाल विद्यार्थी संघले काठमाडौंको माईतिघर मण्डलामा आयोजना गरेको कार्यक्रममा बोल्दै नेता थापाले नागरिकका अधिकार कुण्ठित गर्ने विधेयक रोक्न सदनमा पहल गर्ने प्रतिबद्धता समेत जनाए । उनले सदनमा मात्र गरिने पहलले नपुग्ने भन्दै सडकमा आउन सबैलाई आग्रह गरे । “गुठी विधेयकका बेला पनि संसदमा हाम्रो तागत पुगेको थिएन, तपाईंहरू सडकमा आउनुभयो सरकार झुक्यो,” थापाले भने, “अब फेरि तपाईहरु सडकमा आउनु पर्ने बेला भएको छ ।”
नेपाली कांग्रेसबाट प्रतिनिधि सभामा सदस्य समेत रहेका थापाले सरकारलाई कायरको संज्ञा दिए । उनले भने, “यो सरकार कमजोर र कायर भएपछि नागरिकलाई तर्साउन खोज्दैछ ।” सरकारले बहुमतको प्रयोग नागरिकलाई तर्साउन प्रयोग गरेको उल्लेख गर्दै नेता थापाले प्रश्न गरे, “बहुमत के का लागि ? जनतालाई बलियो बनाउन होइन?” हेरौं भिडियोमा :





























प्रतिक्रिया