प्रधानमन्त्री ओलीका कटाक्ष प्रचण्ड-माधव पक्षलाई, ‘२८० बैठक प्रचण्ड निवासमा’

प्रधानमन्त्री ओलीका कटाक्ष प्रचण्ड-माधव पक्षलाई, ‘२८० बैठक प्रचण्ड निवासमा’

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।

प्रधानमन्त्री केपी शर्मा ओलीले प्रचण्ड माधव नेपालसहितका नेताहरुलाई ‘म यहाँ छु’ भन्ने अवस्था आउने चेतावनी दिएका छन् । नेकपाको भातृ संगठन अनेरास्ववियुको कार्की पार्टी प्यालेसमा भएको ओली पक्षीय कार्यकर्ताहरुको भेलालाई सम्बोधन गर्दै प्रचण्ड–माधव नेपाललाई फर्किएर फेरि यहीँ छौँ भन्न आग्रह समेत गरेका छन् ।

ओलीले प्रचण्ड–नेपाल समूहको संघर्षलाई ब्यङ्ग्य गर्दै अगाडि भने, ’हाम्रो केन्द्रीय कमिटीको बैठकमा नआएर केही साथीहरु कता हराउनु भयो, भनेको हामी यहाँ छौँ भनेर छात्तीमा प्लेकार्ड बोकेर बसिरहनु भएको रहेछ । फेरि त्यहाँदेखि पनि उठेर कता जानु भएछ ।’ आफूले बैठकमा अंग्रेजीमा ‘वी आर हेयर’ भनेर भनेकोलाई उल्था गरेर ‘हामी यहाँ छौँ’ भनेको बताउँदै ब्यंग्य समेत गरेका छन् ।

त्यस्तै उनले ‘एउटाले सुगालाई रमाउ खुशी होउ भन्दै सिकाएछ । एक जना मान्छे मरेछन्, सुगाले पनि त्यही भन्दो रहेछ । मैले कुन प्रसंगमा ‘वि आर हेयर’ भनेको थिएँ । उहाँहरु माइतीघर मण्डलामा पुगेर हामी यहाँ छौँ भनेर टाँस्नु भएछ । दुनियाँले देख्यो नि उहाँहरु कहाँ हुनुहुन्छ भनेर ।’

त्यस्तै ओलीले पदका लागि गएकाहरु भन्दै प्रचण्ड नेपालसहितका नेताहरुलाई पद खाली राखिदिएको भन्दै टिप्पणीसमेत गरेका छन् । ओलीले नेकपा विभाजन गर्न प्रचण्ड नेपाल पक्षले ३१५ बैठक गरेको पनि आरोप लगाएका छन् । गत वैशाख १३ गतेदेखि पुस ४ गतेसम्म ३१५ बैठक बसेको र २८० बैठक प्रचण्ड निवास खुमलटारमा बसेको आरोप लगाए ।

उनले भने, ‘वैशाख १३ देखि पुस ४ सम्म खुमलटारमा मात्रै पार्टी फुटाउने बैठक २८० बसेका रहेछन् । गनेर मैले रेकर्ड हेरेँ । ३५ बैठक बाहिर बसेका रहेछन्, कहिले कोटेश्वर, कहिले प्रेसिडेन्सियल कलेजमा, कहिले अँगेनाको डिलमा । अनि अर्याल होटेलमा । कहिले कसको घर त कहिले कसको घरमा ।’ बसेको उनको आरोप छ ।

त्यस्तै प्रचण्ड नेपाल पक्षमाथि आक्रामक भएका प्रधानमन्त्री ओलीले कैयौं थप आरोप समेत लगाएका छन् । उनले सभामुख अग्निप्रसाद सापकोटाले किर्ते गरेको कुरा फेरि दोहो¥याएका छन् । त्यस्तै संसद पुर्नस्थापना नहुने कुरा दोहो¥याउँदै उनले सर्वोच्चको संबैधानिक इजलासलाई सरकारको जवाफ पठाएको जानकारी दिए ।

यस्तै प्रधानमन्त्री ओलीले प्रचण्ड–नेपाल समूहलाई घाँसभित्र लुकेको हरियो सर्प भन्दै कटाक्ष गरेका छन् । पार्टीभित्रै बसेर दुई तिहाइको सरकार कामै लागेन भनेर कराउने । भित्रै बसेर आन्दोलनलाई कमजोर पार्ने ? भित्र बसेर देशको समय बर्बाद गर्नुभयो, त्यसैले संसद् भंग गर्नुपरेको पनि बताएका छन् ।

उनले अघि भने, ‘तपाईंहरु सहिद भएको भए श्रद्धाञ्जली दिनुहुन्थ्यो । तर तपाईँहरु सहिद त हैन ! तपाईंहरुलाई कार्यक्रममा स्मरण गर्नुपर्ने आश्यकता पनि छैन । तर तपाईंहरुले धुलो उडाउनुहुन्छ । हामीले पानी छम्किने हो । दुर्गन्ध फैलाउनु हुन्छ हामीले सफा गर्ने हो ।’ भन्दै कटाक्ष गरेका छन् ।

साथै वरिष्ठ नेता लगायत अन्य पदहरु कायम राखिएको भन्दै कटाक्ष गरेका थिए । ‘कार्यकारी पद हटाइदिएको छु । वरिष्ठ पद यथावत छ’ उनले भने । प्रचण्ड समूहका नेताहरुलाई कुर्सी चाहिएकोले आफूले कुर्सी पनि सुरक्षित राखिदिएको भन्दै उनले टिप्पणी गरेका थिए ।

त्यस्तै, प्रचण्डले कार्यकारी पाउँदा उपद्रो मच्चाएको र प्रवक्ताले ट्याउँ ट्याउँ गरेकाले हटाएको ओलीको भनाई छ । ‘प्रचण्डजीले कार्यकारी दिँदा अत्यन्त उपद्रो मच्चाउनु भयो । त्यहीँ भएर कार्यकारीबाट हटाएँ । अध्यक्ष कायमै छ । वरिष्ठ नेताहरुको पद यथावत छ । प्रवक्ताले ट्याउँ ट्याउँ गरे । दुर्गन्ध फैलाए । त्यही भएर हटाइएको हो । स्थायी कमिटी सदस्य कायमै छ । आउनुस् सच्चिएर काम गर्नुस् । पार्टीबाट निकालेको छैन । कारवाही गरेको छैन । अलिकति क्षमाशील हुनुपर्छ । हामी क्षमाशील छौं,’ समेत भनेका छन् ।

ओलीले सहि, देशक्ति, लोकतान्त्रिक, शान्तिपूर्ण, सुशासन, भ्रष्टाचार विरोधी विचार र जनताका समस्या समाधानका विचारका साथ अघि बढ्ने र सामाजिक न्याय र समानतालाई अगाडि बढाउँदै गतिशील ढंगले यो अभियानमा अगाडि बढ्ने बताए ।

 

Skip This
Skip This
Logo